वैशाख १४ ।बेनी (म्याग्दी), म्याग्दीवासीको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले जिल्लामा २५ मेगावाट क्षमताको दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण गरिने भएको छ ।
स्वदेश तथा विदेशमा रहेका जिल्लावासीको लगानीमा निर्माण कार्य सुरु गर्न लागिएको आयोजना निर्माण कम्पनी दरवाङ कालिका हाइड्रो प्रालिका अध्यक्ष विनोद कुँवरले जानकारी दिनुभयो ।
कोरियामा रहेका म्याग्दीका बासिन्दाले लगानीको प्रतिबद्धता जनाएका छन् भने अन्य मुलुकमा रहेका यहाँका बासिन्दा समेत सो आयोजनामा लागानी गर्न इच्छुक देखिएका कुँवरले बताउनुभयो ।
आयोजनाको प्रारम्भिक कुल लागत रु तीन अर्ब ९३ करोड रहेको छ ।
मालिका गाउँपालिकाअन्तर्गत पर्ने सो आयोजनास्थलको माटोको जाँच प्रक्रिया समेत अगाडी बढाइएको छ । आयोजनालाई आवश्यकताअनुसारको सहयोग गर्ने प्रभावित क्षेत्रका बासिन्दाले प्रतिबद्धता जनाएका छन् ।
‘रन अफ द रिभर’ प्रकृतिको दरबाङ–म्याग्दीखोला आयोजना दरबाङदेखि दुई किलोमिटर माथि देवीस्थान र ताकम धारापानी जाने भेदीखोालमा बाँध बाँधेर पाँच किलोमिटर टनेलहुँदै दरबाङ र बाबियाचौर गाविसको सिमानामा अवस्थित सहश्रधाराको रातोढुङ्गामा १०० मिटर अग्लो बाँध निर्माण गरिनेछ ।








