नेपाली दूतावासबाटै मानव तस्करी !

काठमाडौं । ठूलो खर्च गराएर नक्कली कागजातका आधारमा यूएई ल्याउने धन्दामा नेपाली दूतावाससमेत सामेल भएको पाइएको छ । अन्नपूर्ण पोस्ट्ले गरेको अनुसन्धानमा सयौं यस्ता डकुमेन्ट भेटिएका छन्, जसमा प्रविधिको प्रयोग गरी भिजिट भिसालाई रोजगार भिसा बनाइएको छ। र, त्यसमा दूतावासले साथ दिएको छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

उदाहरणका लागि दुबईस्थित फाल्कोन फोर्स प्रोपर्टी गार्ड एन्ड सर्भिलिएन्स एलएलसीले यूएई ल्याएका केही व्यक्तिलाई हेरौं। उसले सेप्टेम्बर २०१७ देखि फेब्रुअरी २०१८ सम्म २ सय ७१ नेपाली यही विधिबाट ल्यायो।

उसले ल्याउन चाहेका नेपालीको ३० दिने भिजिट भिसा निकाल्यो। त्यसलाई नक्कली रोजगार भिसा बनाई नेपाली दूतावासबाट प्रमाणित गरायो। दूतावासले चाहेको भए निःशुल्क डाउनलोड गर्न सकिने ‘जीडीआरएफए दुबई’ नामक एप्सबाटै यसको परीक्षण गर्न सक्थ्यो। अनलाइन परीक्षण गर्ने यस्ता धेरै विधि छन्, जसले भिसा कस्तो हो भन्ने प्रस्ट देखाउँछन्।

हामीले जीडीआरएफए दुबई र अन्य सफ्टवेयर प्रयोग गरी हेर्दा सयौं संख्यामा टुरिस्ट भिसा निकालेर नक्कली रोजगार भिसा बनाएको पाइएको छ। यसरी फसाइने नेपालीबाट पैसा भने प्रतिव्यक्ति ३ लाख रूपैयाँँभन्दा बढी लिइने गरिएको छ। त्यसको भागबन्डा वैदेशिक रोजगार र अध्यागमन विभाग हुँदै नेपाली दूतावाससम्म आइपुग्ने गरेको कागज उपलब्ध गराउने स्रोतले जनायो। सेटिङमा हुने मानव तस्करीको यो उपल्लो तरिका हो।

यस्तै खाले नक्कली रोजगार भिसामा श्रम स्वीकृति लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई आएका निग्मा शेर्पाले यहाँ आएपछि ठगिएको थाहा पाए। तुरुन्त फिर्ता गर्न कडा कुरा गरे। उनलाई नेपाल पठाइयो। त्यति मात्र होइन, उक्त सेटिङबाट यूएई पठाउने एपोलो ओभरसिज सर्भिसेज म्यानपावरले गत वैशाख ७ गते ३ लाख ५० हजार रूपैयाँ फिर्ता गरिदियो। त्यसको कागज पनि ग-यो।

सोही दिन उक्त म्यानपावरले पूर्णबहादुर आलेलाई ३ लाख ५ हजार रूपैयाँ, फुर्बा शेर्पा र निमा शेर्पालाई एकै चेकमार्फत ६ लाख ९० हजार रूपैयाँ फिर्ता गरेको छ। एपोलो म्यानपावर कम्पनीले यसरी ११ जनाको प्रतिव्यक्ति झन्डै ३ लाख ५० हजारका दरले ३८ लाख रूपैयाँभन्दा बढी रकम फिर्ता गरेको थियो। कानुनी झमेला र थप विवादबाट बच्न कामदारहरूबाट लिएको रकम चुपचाप फिर्ता गरिदिन ऊ तयार भएको थियो।

सम्बन्धित शिर्षकहरु