कोरियामा १५३ औँ मोती जयन्ती तथा बृहत् रचना वाचन कार्यक्रम हुने


कोरिया । १५३ औँ मोती जयन्तीको अवसरमा कोरियामा बृहत् कार्यक्रम हुने भएको छ । अनेसास कोरियाको आयोजनामा सम्पन्न हुन लागेको सो कार्यक्रममा कोरियावासी नेपाली सर्जकहरुले आफ्ना रचनाहरु वाचन गर्नेछन् ।
नेपाली साहित्यको माध्यमिककालमा शृङ्गारधाराका प्रवर्तक राष्ट्रिय विभूति मोतीराम भट्टको १५३औँ जन्मजयन्ती मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल गजलकार र होनहार प्रतिभा भट्टले समस्यापूर्ति कविताहरूको अभ्यासमा जोड दिएका थिए । विसं १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको अल्पायुमै परलोक भएका भट्टले नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।

१५३ औँ मोती जयन्ती तथा बृहत् रचना वाचन कार्यक्रमका संयोजक गंगा बस्नेतले कोरियाजस्तो अति व्यस्त देशमा रहेर पनि नेपाली भाषासाहित्यमा कलम चलाउने युवाहरु प्रशस्त रहेको र विषेश गरी गजल धेरै फस्टाएको जनाए । त्यसै गरी अनेसास कोरियाको प्रस्तुतिमा गजल एल्बम नै तयार पारेको र अब छिट्टै नै विमोचन हुने संस्थाका अध्यक्ष प्रमोद सारंगले बताएका छन् ।

कार्यक्रममा कोरिया च्याप्टरले हरेक बर्ष प्रदान गर्दै आएको “अनेसास कोरिया संगीत सम्मान” यसपालि युवा गायक रमेश सङ्रौलालाई दिने भएको छ । अनेसास कोरिया संगीत सम्मानबाट यसअघि गायक राज सिग्देल, संगीतकार डी. आर अटु, सि पि मगरलगायत सम्मानित भएका थिए ।मोती जयन्तीकै अवसरमा अनेसास कोरिया च्याप्टरले आजीवन तथा साधारण सदस्यता प्रदान गर्ने भएको छ ।
सेप्टेम्बर २३ तारिख शुभेच्छा होटलको सभाहलमा हुने सो कार्यक्रममा काव्य-सुधाका विगतका शृङ्खलाहरूमा जस्तै यसपटक पनि उपस्थित दर्शकहरूले दमदार रचनाहरुको स्वाद लिन पाउने आयोजकको दाबी छ । च्याप्टरले यसअघि कविता वाचन, गजल वाचन, मुक्तक वाचन कार्यक्रमलगायत ‘देवकोटा जयन्ती’, ‘भानु जयन्ती’जस्ता कार्यक्रमहरु निरन्तर गर्दै आएको छ ।

सम्बन्धित शिर्षकहरु