काठमाडौं । नेपाल खाद्य संस्थानले दशैं, तिहार र छठलगायत चाडवाडलाई लक्षित गर्दै सहुलियत पसल सञ्चालनमा ल्याउने भएको छ । कम आय भएका सर्वसाधारणलाई लक्षित गरेर सरकारले दशैंदेखि छठसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । पसल आगामी असोज १२ गतेदेखि काठमाडौं उपत्यकासहित देशका मुख्य शहर तथा जिल्ला सदरमुकामहरुमा सुपथ मूल्यको पसल सञ्चालन गर्दैछ । यसरी खुल्ने पसल कात्तिक २७ गतेसम्म चल्नेछन् । देशभर ४७ वटा सुपथ मूल्यका पसल खुल्नेछन् ।
साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानले सस्तो उपभोग्य सामान उपलब्ध गराउन पसल खोल्नेछन् । कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुंगल, भक्तपुर, ललितपुरमा तीनवटै संस्थानले एकीकृत पसल चलाउने तयारी छ ।
यी पसलमा मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ, चिनीमा ५, बास्मतीमा १०, खसीबोका च्यांग्रामा १०, नुनमा २, डिडिसी घ्युमा ५० र पनिरमा प्रतिकिलो १० रुपैयाा छुट दिने निर्णय भएको छ ।
खाद्य संस्थानले सिंहदरबारमा एकीकृत र ७ प्रदेशमा थप ११ वटा सुपथ मूल्यका पसल खोल्नेछ । यस्तै साल्ट ट्रेडिङले काठमाडौंमा ९ वटा आफ्नै डिपोहरुमा पसल चलाउनेछ भने उपत्यकाबाहिर २२ वटा डिपो र घुम्ती पसल गरेर ३६ वटा सुपथ मूल्यका पसल चलाउने योजना तयार भएको छ । उपत्यकामा ३ वटा मोवाइल भ्यानबाट पनि घर दैलोमा सामान पुर्यापउने व्यवस्था गरिएको छ ।
त्यसैगरी उपत्यकाबाहिर कृष्णनगर, सुर्खेत, नेपालगंज, टिकापुर, धनगढी, महेन्द्रनगर, दिपायल, डडेल्धुरा, बेलौरी, त्रिशुली, बैतडी, हटौंडा, पोखरा, अछाम, बाजुरा, बझाङ, विर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगञ्ज, बाग्लुंग, भैरहवा लगायत स्थानमा सुपथ मूल्यका पसल सञ्चालन आउने छन् ।
यस्ता पसलमा सरकारी संस्थानले खाद्यान्न तथा उपभोग्य समानमा विभिन्न छुटहरु दिनेछन् । दाल, चामल, चिनी, मैदा, सुजी, दाल र सोयाविन तेलमा छुट दिइने छ । दुग्ध विकास संस्थानले घीउमा छुट दिनेछ । खाद्य संस्थानले चामल, गहुँ र गेडागुडी सुपथ मूल्यमा उपलब्ध गराउनेछ ।








