
काठमाडाैँ । सशस्त्र प्रहरीले शनिबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको यती एयरको विमान हटाउन लगातार पाँच घण्टा लामो विशेष कारबाही गरेको छ। सशस्त्रका डिएसपी ओजेश वलीको कमाण्डमा बिहान साढे ३ देखि ८ बजेसम्मको लगातार प्रयासपछि विमान धावन मार्गबाट हटाइएको थियो।
सशस्त्रका सहप्रवक्ता अजय छतकुलीका अनुसार ४७ जना सशस्त्र प्रहरीको टोलीको प्रयासमा विमानलाई सुरक्षित स्थानमा लगिएको हो। उनले विमान हटाउन धसिएका पाङग्रा तल खाल्टो खनेर डोरी लगाएर विमान तानिएको जानकारी दिए।
‘विमान नहटाउँदासम्म विमानस्थल नै सूचारु हुन सकेन, मान्छे र स्काभेटरले तानेर सुरक्षित स्थानमा लग्यौँ,’ डिएसपी छतकुलीले भने। नेपालसँग विमान तान्ने क्षमताको क्रेन नहुँदा विमान दुर्घटना भए हटाउन मान्छेकै भर पर्नु परेको हो।

शनिबार राति अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा धसिएको यती एअरलायन्सको चार्टर विमानलाई एपीएफ टोलीले स्काभेटरको सहयोगमा धावनमार्ग हुँदै सुरक्षित स्थानमा पु¥याएको हो। त्यसपछि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुचारु भएको थियो।
नेपालगञ्जबाट काठमाडौँको लागि उडेको नाइन एन एएजडब्लु जेट स्टिम यति एअरलायन्सको चार्टर विमान शनिबार राति कोटेश्वरतर्फबाट विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर ४÷५ मिटर वायाँतर्फको घाँसे मैदानमा जहाजको तीनवटै पांग्रा धसिन गएको थियो।
दुर्घटनामा चालक दलका सदस्य ३ जना तथा २१ जना यात्रुहरु सबै सकुशल रहेका छन्। दुर्घटनापछि आईतबार बिहान साढे ३ बजेबाट सशस्त्र प्रहरी नायव उपरीक्षक ओजेश वलीको कमाण्डमा सशस्त्र प्रहरी निरीक्षकद्वय मिनराज भट्ट र भवराज कटवालको छुट्टैछुट्टै विपद उद्धार टोली खटिएको थियो।
एपीएफ टोलीको लगातारको प्रयासपछि बिहान करिब आठबजे जहाजलाई धसिएको घाँसे मैदानबाट धावनमार्ग हुँदै त्यहाँबाट हटाउन सफल भएको हो। जहाजलाई घाँसे मैदानबाट हटाएपछि एपीएफ टोलीले सम्बन्धित एअरलायन्सका प्रतिनिधिहरुलाई जिम्मा लगाएको छ।









