काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनका लागि रङ–रोगन तथा सजावटमा करीब २ करोड खर्च भएको छ । बिमस्टेकका लागि सडक विभाग र विभिन्न स्थानीय तहले सडक रंग–रोगन गरिरहेका छन् भने विभिन्न सरकारी निकाय तथा गैरसरकारी संघसंस्थाहरूले प्रवेशद्वार तथा होडिङ बोर्ड निर्माण गरिरहेका छन् ।
सडक विभागको नियमित कार्यअन्तर्गत भएको ४ करोडको ठेक्कामध्ये करीब ३० प्रतिशत खर्च बिमस्टेकका लागि भएको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए । बिमस्टेकका लागि सडक विभागले मात्रै रंग–रोगनमा करीब १ करोड २० लाख खर्च गरेको देखिन्छ । यस्तै उपत्यका सडक विकास आयोजनाले पनि सडकको रंग रोगनमा ३० लाखभन्दा बढी खर्च गरेको सम्बन्धित अधिकारीहरूले बताएका छन् । यसरी सडक रंगरोगनमा मात्रै डेढ करोड खर्च भएको देखिन्छ ।








