अस्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरेर आजबाट दोस्रो अस्ट्रेलियन शैक्षिक मेला

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरेर शुक्रबारबाट राजधानीमा दोस्रो अस्ट्रेलियन शैक्षिक मेला हुने भएको छ । अस्ट्रेलियामा रहेका शैक्षिक परामर्श केन्द्रहरूको साझा छाता संगठन अस्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाइन्स (एका)को आयोजनामा शैक्षिक मेला हुन लागेको हो । दरबारमार्गस्थित होटल अननपूर्णमा हुने मेला अस्ट्रेलियाका सातवटा कलेज तथा २२ वटा शैक्षिक परामर्शदाताको प्रत्यक्ष सहभागिता रहने आयोजकले जानकारी दिएको छ।

दुई दिन (भदौ ८ र ९)सम्म चल्ने शैक्षिक मेलामा अस्ट्रेलियाको शैक्षिक अवस्था, विद्यार्थी तथा अभिभावकको जिम्मेवारी, पढाइ खर्च र पढ्ने विषय, कलेज तथा विश्वविद्यालयका बारेमा विशेष जानकारी उपलब्ध गराइनेछ। मेलामा २२ वटा शैक्षिक परामर्शदाताको सहभागितासहित ३० वटा स्टल रहने आयोजकले जनाएको छ।

‘प्लस टु सकेर अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जाने क्रम बढिरहँदा विद्यार्थीसँगै अविभावकको जिम्मेवारीसमेत उत्तिकै हुने गर्छ,’ मेलाबारे जारी विज्ञप्तिमा उल्लेख छ, ‘त्यसैले हामीले मेलाको नारा नै ‘विद्यार्थीसँगै अभिभावक’ तय गरेका छौं ।’ मेलामा एचआइबिटी कलेज फेयर पार्टनरको रुपमा रहेको छ। उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया जान चाहेका विद्यार्थी र अविभावकका लागि शैक्षिक मेलाले राम्रो अवसर उपलब्ध गराउने अपेक्षा आयोजकले लिएको छ।

सम्बन्धित शिर्षकहरु