
काठमाडौं । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका कानुनमन्त्री शेरबहादुर तामाङको मन्त्री पद जाने भएको छ । आफ्नो अभिव्यक्तिले कसैलाई चोट पुगेको भए भन्दै माफी मागेपनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कानुनमन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ । उनले आजै मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गर्ने स्रोतले जनाएको छ ।
केही दिन अघि मन्त्री तामाङ्गले एक कार्यक्रममा बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरुले सर्टिफिकेटका लागि आफ्नो अस्मिता सुम्पनु पर्ने कुरा आफुले सुनेको बताएका थिए। उनको अभिव्यक्ति गलत भएको र यसले बंगलादेशमा पढेका तथा पढिरहेका छात्राहरुको अस्मितामाथि दावा बोलेको भन्दै सामाजिक सञ्जालमा उनको व्यापक अलोचना भएको थियो।
सोमबार राति प्रधानमन्त्री केपी ओलीसहितको नेकपाको सचिवालय बैठकमा नेताहरुले उनलाई राजीनामा गराउनु पर्ने मत राखेका थिए। पार्टीमा पूर्व प्रधानमन्त्री माधव नेपाल निकट मानिने तामाङलाई राजिनामा गराउन नेता नेपाल आफैले चासो राखेको बताइएको छ ।








