सलमानलाई ल्याउँछु भन्दै करोडौं उठाउने सीमान्त गुरुङ पक्राउ

काठमाडौं । बलिउड स्टार सलमान खानलाई नेपाल ल्याउँछु भन्दै टिकट विक्री गरेर करोडौं ठगी गरेको अभियोगमा ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सीमान्त गुरुङलाई प्रहरीले पक्रेको छ । दवङ्ग टुर अन्तर्गत सलमान खानलाई नेपाल ल्याउने भन्दै पाँच हजारभन्दा बढी टिकट बिक्री गरी करोडौं ठगी गरेको अभियोगमा उनी पक्राउ परेका हुन् ।

सलमानलाई काठमाडौंको टुँडिखेलमा ल्याएर कार्यक्रम गर्ने भन्दै लाखौं ठगी गरेका गुरुङलाई लाजिम्पाटबाट नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिएका छन् । विप्लव नेतृत्वको नेकपाको धम्की र कालो हरिणको शिकार गरेको मुद्दामा जोधपुर अदालतले खानलाई पाँच बर्षको जेल सजाय सुनाएसँगै सलमानको नेपाल भ्रमण स्थगित भएको थियो ।

तर, आयोजक ओडिसीका अध्यक्ष गुरुङले ‘सलमान नेपाल आउने कम्फर्म छ’ भन्दै ढाँटेर हालसम्म पैसा उठाइरहेका थिए । गुरुङले सलमान ल्याउने भन्दै ५ हजारदेखि २० हजारसम्मको टिकट विक्री गरेको जनाइएको छ । ‘गुरुङबिरुद्धमा ठगीको जाहेरी परेको छ’ एसएसपी सिंहले भने, ‘ठगी मुद्दामा म्याद लिएर अनुसन्धान शुरु गर्छौ ।’

केही समयअघि अभियुक्त गुरुङले ३ हजारदेखि ५ हजार दरको टिकट बिक्री भएको बताए पनि ५ हजारदेखि २० हजारसम्मको टिकट बेचेर करोडौं उठाएको पाइएको प्रहरीले जनाएको थियो ।

आडिसी इन्टरटेनमेन्टले राष्ट्र बैंकमार्फत खानलाई ६ करोड बढी पैसा पठाइसकेको गुरुङले दाबी गरेका थिए । सलमान खान टुँडिखेल आउँदा १० देखि १२ करोडको रुपैयाँको लागत अनुमान गरिएको थियो ।
खानलाई पाँच बर्षको जेल सजाय सुनाएसँगै उनी आउने भनिएको पहिलो मितिको भ्रमण स्थगित भएको थियो । तर, गुरुङले गत ‘मे २६ आ आउने निश्चित छ, उहाँको म्यानेजरले चिन्ता गर्नु पर्दैन’ भन्दै टिकट बिक्री गरेका थिए ।

सम्बन्धित शिर्षकहरु