स्विडेनलाई हराँउदै इंग्ल्याण्ड सेमिफाइनलमा

एजेन्सी । इंग्ल्याण्डले स्विेडनलाई हराँउदै २८ वर्षपछि पहिलो पटक विश्वकपमा सेमिफाइनलको यात्रा तय गरेको छ । जारी विश्वकपमा इंग्ल्याण्डले स्विडेनलाई २–० गोलले हराउँदै सन् १९९० विश्वकपपछि इंग्ल्याण्ड पहिलो पटक विश्वकपमा सेमिफाइनलको यात्रा तय गरेको हो ।

इंग्ल्याण्डले स्विडेनलाई विश्वकपमा पहिलो पटक हराएको हो । यसअघि भएका दुई भेट बराबरीमा सकिएको थियो । इंग्ल्याण्ड आफ्नो समग्र विश्वकप इतिहासमा तेस्रो पटक सेमिफाइनलमा पुगेको हो । सन् १९६६ मा आफैले विश्वकप जित्दा र सन् १९९० मा सेमिफाइनलसम्म पुगेको थियो ।

सन् १९९० मा भने इंग्ल्याण्ड पश्चिम जर्मनीसँग सेमिफाइनलमै पराजित भयो । फाइनल प्रवेशका लागि इंग्ल्याण्डले आयोजक रुस र क्रोएसियाबीच हुने अन्तिम क्वार्टरफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्याण्डलाई अन्तिम ४ मा पुर्‍याउन खेलको ३० औं मिनेटमा हयारी मागुरे र ५९ औं मिनेटमा डेल अलीले गोल गरे ।

कर्नर बलमा मागुरेले हेडमार्फत सुन्दर गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० ले अग्रता लिएको इंग्ल्याण्डका लागि डेल अलीले गोल गर्दै अग्रता दोब्बर पारे । जेसस लिंगाडको क्रसमा उनले हेडमार्फत बललाई जाली चुमाए । इ‌ंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले स्वीडेनको ३ वटा उत्कृष्ट प्रहार बचाएर टिमको जित सुनिश्चित गरे । इंग्ल्याण्ड यो सहित तेस्रो पटक विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको हो ।

सम्बन्धित शिर्षकहरु