आईपीएलको उपाधि चेन्नाईलाई, वाट्सनको शतक

एजेन्सी । आईपीएल क्रिकेटको उपाधि चेन्नई सुपरकिंग्सले जितेको छ । आइतबार राति भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नई तेस्रोपटक आईपीएलको च्याम्पियन बनेको हो । आईपीएलमा २ वर्षको प्रतिबन्धपछि आएको चेन्नईलाई विजयी बनाउन शेन वाटशनले नटआउट १ सय १७ रन बनाए ।

१७९ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले निर्धारित ओभर सकिन ९ बल बाँकी छदै २ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै तेस्रो पटक आईपीएलको उपाधि चुमेको हो । चेन्नाईलाई उपाधि दिलाउन ओपनर शेन वाटसनले शतकीय पारी खेले । उनले अविजित ११७ रन बनाए । ५७ बलको सामना गरेका वाटसनले ११ चौका र ८ छक्का प्रहार गरेका थिए । ११ औं संस्करणको आईपीएलमा उनको यो दोस्रो शतक हो ।

त्यस्तै, सुरेश रैनाले ३२ रन बनाए भने आम्बत्ती रयुडुले १६ रनको योगदान दिए । यसअघि मुम्बईको वाङखडे क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको थियो । हैदरावादले सुरुवात भने खराब गरेको थियो । १३ रन हुदा पहिलो विकेट गुमाएको हैदरावादले ६४ रन हुदा दोस्रो विकेट गुमाएको थियो ।

हैदरावादका लागि केन विलियम्सनले ४७ रन बनाएका थिए । उनले ३६ बलमा ५ चौका र २ छक्काको मद्दतमा ४७ रन बनाएका थिए । त्यस्तै, युशुफ पठानले अविजित ४५ रन बनाए । उनले २५ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरेका थिए । त्यस्तै, शिखर धवनले २६ र शकिब अल हसनले २३ रनको योगदान दिए ।

फाइनल खेलमा पनि हैदरावाद चेन्नाई विरुद्ध निरिह बन्न पुग्यो । यसअघि भएको लिग चरणको दुबै खेलमा हैदरावाद चेन्नाईसँग पराजित भएको थियो । त्यस्तै, प्लेअफको पहिलो क्वालिफायरमा पनि हैदरावादलाई पराजित गर्दै चेन्नाई फाइनलमा पुगेको थियो ।
चेन्नाईले यसअघि सन् २०१० र २०११ को आईपीएलको उपाधि जितेको थियो ।

सम्बन्धित शिर्षकहरु