सिन्डिकेटको दादागिरी: ग्यारेज थन्किए सार्वजनिक सवारी साधन,देशभरको जनजीवन प्रभावित

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले गतवर्ष चैत १८ मा जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालनमा रोक लगाएको छ। महासंघले व्यवसायीसँग छलफल नगरी सरकारले यातायात निर्देशिका जारी गरेको भन्दै देशभरका यातायात सञ्चालनमा रोक लगाएपछि उपत्यकालगायत देशभरको जनजीवन प्रभावित भएको छ।

महासंघका महासचिव सरोज सिटौलाले व्यवसायीले यातायात राम्रो बनाउन लागि सरकार, व्यवसायी र उपभोक्ता रहनेगरी अधिकार सम्पन्न प्राधिकरणको माग गरिरहेका बेला सरकारले बलात् ढंगले निर्देशिका जारी गरेकाले सवारी सञ्चालन बन्द गर्नुपरेको बताए। ‘यातायात क्षेत्रमा देखिएको विकृतिको अन्त्य गर्ने हाम्रो पनि उद्देश्य हो, तर सरकार बिना छलफल चल्न खोजेपछि उक्त कदम चाल्न बाध्य भएका हौँ’, उनले भने। महासचिव सिटौलाले आफ्नो माग सुनुवाइ नभए चरणबद्ध आन्दोलन गर्नेसमेत जानकारी दिए। अर्कातिर, कम्पनीमा आबद्ध यातायात व्यवसायीले भने आफ्नो सेवालाई पनि निरन्तरता दिने भएका छन्।

बिहीबार कम्पनीमा आबद्ध व्यवसायीको यातायात व्यवस्था विभागमा भएको छलफलपछि सेवा दिन तयार रहेको टुरिष्ट बस एसोसिएसन अफ नेपाल टिवानका महासचिव कृष्ण आचार्यले जानकारी दिए। ’राज्यले सुरक्षा दिन्छ भने हाम्रो कम्पनीअन्तर्गतका सबै सवारीसाधन सडकमा गुडाउँछौं’, उनले भने। महासंघअन्तर्गत अहिले देशभरका ३०५ समितिमा झण्डै चार लाख सार्वजनिक यातायात सञ्चालनमा छन्।

सम्बन्धित शिर्षकहरु