एजेन्सी । सेमिफाइनलमा पराजित भए पनि इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । रोममा बुधबार राति भएको सेमिफाइनलअन्तर्गत दोस्रो लेगमा इटालियन क्लब रोमासँग ४–२ ले पराजित भए पनि लिभरपुल समग्रमा ७–६ को जितसहित फाइनलमा स्थान बनाउन सफल भएको हो ।
लिभरपुल पछिल्लो ११ वर्षमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । यसअघि सन् २००७ मा उसले फाइनल खेलेको थियो ।
मे २६ मा युक्रेनको किएभमा हुने फाइनल खेलमा लिभरपुलले उपाधिका लागि स्पेनिस क्लब तथा यसअघिका दुई सिजनको विजेता रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । रियल मड्रिड जर्मन क्लब बार्यन म्युनिखलाई हराउँदै फाइनलमा पुगिसकेको छ ।
यो सिजन उसले रियल मड्रिडलाई पाखा लगाउँदै उपाधि उचालेमा त्यो क्लबको इतिहासमा छैटौँ उपाधि हुनेछ । युरोपियन कप वा च्याम्पियन्स लिगमा लिभरपुलले सन् १९७७, १९७८ र १९८१, १९८४ तथा २००५ मा उपाधि जितेको छ ।
यसपटकको च्याम्पियन्स लिग फाइनल ३७ वर्ष अघिको युरोपियन कपको फाइनलको पुनरावृत्ति जस्तो बन्ने भएको छ । त्यसबेला लिभरपुलले रियल मड्रिडलाई १–० ले हराएर उपाधि उचालेको थियो ।








