अष्ट्रेलिया । अष्ट्रेलियामा उच्च अध्ययनका लागि आउने विदेशी नेपालीको संख्या दिनानुदिन बढिरहेको छ। अन्य देशको विद्यार्थीमध्ये नेपाली विद्यार्थी सर्वाधिक तेस्रो नम्बरमा रहेका तथ्याङकले देखाएको छ । अष्ट्रेलिया सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०१८ मा हालसम्म ५ लाख ९ हजारभन्दा धेरै विद्यार्थी अष्ट्रेलिया भित्रिएका छन्।
गत वर्षको संख्याभन्दा यो १२ प्रतिशतले बढी हो। अष्ट्रेलिया सरकारको शिक्षा तथा तालिम विभागको तथ्यांक अनुसार अहिले अष्ट्रेलियामा झण्डै ३० हजार नेपाली विद्यार्थी छन्। तथ्यांक अनुसार गत वर्ष जम्मा १८ हजार ५ सय ९२ रहेको नेपाली विद्यार्थीको संख्या एक वर्षमा बढेर २९ हजार २ सय ६१ पुगेको छ। विश्वविद्यालय र कलेजमा भर्ना भएका नेपाली विद्यार्थी अघिल्लो वर्षको तुलनामा ५४ प्रतिशत बढेको हो।
तथ्यांक अनुसार अहिले १९ हजार ६६ जना नेपाली विद्यार्थी विश्वविद्यालय उच्च शिक्षा अध्ययनरत छन्। जुन संख्या गत वर्ष १३ हजार ४ सय ५१ मात्र थियो। त्यसैगरी गत वर्ष ३ हजार ५ सय नेपालीहरुले भोकेसनल कोर्स गरिरहेकोमा यस वर्ष यो संख्या ह्वात्तै बढेर ८ हजार ५ सय ७३ पुगेको छ।
अस्ट्रेलीयामा यस वर्ष अध्ययन गर्न आउने अन्तराष्ट्रिय विद्यार्थीहरूमा कोलम्बियाका २९ प्रतिशत, ब्राजिलका २७ प्रतिशत, भारतका १७ प्रतिशत र चीनका १६ प्रतिशत विद्यार्थी बढेका छन्।
विद्यार्थीको संख्यामा वृद्धि भएसँगै अन्तर्राष्ट्रिय विद्यार्थी बजार पनि २०१६ पछि २२ प्रतिशतले बढेको छ। अष्ट्रेलियामा शैक्षिक बजार मूल्य बढेर अहिले ३२.२ बिलियन डलर पुगेको छ।








