एजेन्सी । स्पेनिस ला ला लिगा फुटबलको उपाधि होडमा रहेको एथ्लेटिको मड्रिड पराजित भएको छ । बिहिबार राति भएको खेलमा एथ्लेटिको रियल सोसीडाडसँग ३ – ० ले पराजित भएसँगै बार्सिलोना उपाधि नजिक पुगेको छ ।
एथ्लेटिको पराजितभएसँगै अंक तालिकामा बार्सिलोनाले १२ अंकको अग्रता लिएको छ । ला लिगामा अब डिपोर्टिभो ला कोरुनासँगको खेल जिते बार्सिलोनाले चार खेल अगावै उपाधि जित्नेछ ।
घरेलु मैदानमा रियल सोसीडाडलाई जित दिलाउन जुवान्मीले दुई गोल गरे । यस्तै एक गोल विलियन जोसेको नाममा रह्यो । खेलको अन्तिम समय सम्हालिन नसक्दा एथ्लेटिकोलाई रियल सोसीडाडले फराकिलो अन्तरले हराएको हो ।
यो जितसँगै रियल सोसीडाडले लिगमा ३३ खेलबाट ४३ अंक जोडेको छ । रियल सोसीडाड लिगको ११ औं स्थानमा रहेको छ । लिगको दोस्रो स्थानमा रहेको एथ्लेटिकोले ७१ अंक जोडेको छ । शीर्ष स्थानको बार्सिलोनाको ८३ अंक रहेको छ ।








