एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको क्वाटरफाइनलको पहिलो लेगमा लिभरपुल विजयी भएको छ । लिभरपुलले प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीलाई ३–० ले हराँउदै शानदार जित हात पारेको हो ।
घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले पहिलो हाफको ३१ मिनेट भित्र तीन गोल गरेको थियो । खेलको १२ औं मिनेटमा मोहम्मद सलाहको गोलमार्फत लिभरपुलले अग्रता लियो । सलाहको यो सिजनको ३८ औं गोल हो । तर उनी ५३ औं मिनेटमा चोटग्रस्त हुँदै मैदान बाहिरीएका थिए ।
खेलको २१ औं मिनेटमा अक्सलेड चेम्बरलेनले गोल गरेपछि सिटी दुई शुन्यले पछि पर्यो । त्यस्तै ३१ औं मिनेटमा साडियो मानेले हेडर गोल गर्दा लिभरपुल पहिलो हाफमा नै तीन शुन्यको अग्रता लिन सफल भयो । दोस्रो हाफमा भने सिटीले लिभरपुलमाथि दबाब सिर्जना खोजे पनि त्यो पर्याप्त हुन नसक्दा खेल हार्न पुग्यो ।
खेलको सकिनै लाग्दा गाब्रिएल यसुसले गोल गरे पनि रेफ्रिले अफ साइड दिएका थिए । जितसँगै लिभरपुलले क्वाटरफाइनलमा पूर्ण रुपमा नियन्त्रण जमाएको छ । पेप ग्वार्डिवालाको टोली सिटीलाई भने सेमिफाइनल पुग्न दोस्रो लेगमा फराकिलो जित आवश्यक छ ।








