सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा मंगलवार मृत भेटिएकी गौरीकला रोकायको हत्यामा संलग्न ट्राफिक प्रहरीसहित ३ पक्राउ परेका छन् । पञ्चपुरी नगरपालिका– ३ चौर घर भइ एसईई परीक्षाका लागि बाबियाचौरमै डेरामा बसेकी गौरीकला रोकायको मंगलवार विभत्स अवस्थामा मृत भेटिएकी थिइन् ।
१८ वर्षीया रोकाय हत्याको भोलिपल्ट प्रहरीले ट्राफिक प्रहरीसहित दुई जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले दैलेख घर भई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी–८ बाँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई पक्राउ गरेको हो । उनीहरुले रोकायको हत्या गरेको स्वीकारेको इलाका प्रहरी कार्यालय, बाबिचौरका प्रमुख प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले जानकारी दिए ।
प्रहरी निरीक्षक श्रेष्ठका अनुसार, यौनसम्बन्ध राख्न कोठाबाट अन्यत्र लैजाने क्रममा मोटरसाइकल दुर्घटना भएर रोकाय गम्भीर घाइते भएको र अचेत अवस्थामा डेरामा छाड्दा उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । सूर्यप्रकाश मावि पलैटेमा अध्ययनरत छात्रा हुन् ।







