असोज १३ । काठमाडौँ, प्रमुख तीन दल आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र अन्य मधेसी दलका अधिकांश माग पूरा गर्न लचक देखिएका छन् । मधेसी मोर्चाले उठाउँदै आएका जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, अन्तरिम संविधानकै व्यवस्था अनुसारको समानुपातिक समावेशिताको सुनिश्चितताको माग पूरा गर्न तीन दल सहमत देखिएका हुन् ।
कांग्रेस, एमाले र एमाओवादीबीचमा मधेसी मोर्चाका यी दुई माग संविधान संशोधन गरेर पूरा गर्ने विषयमा भित्री सहमति जुटिसकेको छ । त्यसको खुलासा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमला दाहालले मंगलबार पार्टीका मधेसी नेताहरूसँगको छलफलमा गरेका हुन् । राज्य पुनःसंरचनामा प्रदेशको सीमांकन मिलाउने विषयमा पनि तीन दलबीच सकरात्मक छलफल चलेको दाहालले जनाएका छन् । नवलपरासीदेखि बर्दिया सम्म वा कैलालीसम्मका जिल्लालाई एक प्रदेश बनाई थारूहरूको पनि क्लस्टर मिलाउने गरी छलफल चलेको दाहालले जनाएका हुन् । समचार आजको राजधानी दैनिकमा छ ।








