एएफसी एसियन कप फुटबल: प्रतिष्ठाको लडाइँमा नेपाल यमनसँग भिड्दै

काठमाडौं । एएफसी एसियन कप फुटबल छनोट चरणको अन्तिम खेलमा मंगलबार नेपाल र यमन भिड्दैछन्। कतारको दोहास्थित सुहिम बिन हमाद रंगशालामा खेल नेपाली समयअनुसार राति ९ बजे हुनेछ। समूह ‘एफ’अन्तर्गत्को यो खेल नेपालको लागि औपचारिकतामात्रै हुनेछ । एसियन कपका लागि छनोट हुने सम्भावना सकिएकाले यो खेल नेपालका लागि प्रतिष्ठाको लडाइँमात्रै बनेको छ।

नेपाल समूहमा आफ्नो पहिलो जितको पर्खाइमा रहेको छ। अर्कोतर्फ नेपाललाई पराजित गर्दै यमन एएफसी एसियन कपमा आफ्नो स्थान सुनिश्चित गर्न चाहन्छ। नेपालले समूहको पहिलो खेलमा फिलिपिन्ससँग ४–१ को हार व्यहोरेको थियो। दोस्रो खेलमा यमनसँग गोलरहित बराबरी खेलेको नेपाल तेस्रो खेलमा ताजिकिस्तानसँग २–१ ले पराजित भएको थियो।

चौथो खेलमा फिलिपिन्ससँग गोलरहित बराबरी खेलेको नेपाल पाँचौं खेलमा भने ताजिकिस्तानसँग ३–० ले स्तब्ध भएको थियो। नेपालकै समूहमा रहेको फिलिपिन्स ९ अंकका साथ शीर्ष स्थानमा छ भने यमन ७ अंकसहित दोस्रो तथा समान ७ अंक जोडेको ताजिकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ। दुई अंकमात्र जोडेको नेपाल अंकतालिकाको पुछारमा छ।

सम्बन्धित शिर्षकहरु