
काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा पार्टी भित्रै घेराबन्दीमा परेका छन् । सरकारबाट बाहिरिएसँगै सभापति देउवाविरुद्ध पार्टीभित्रबाटै चौतर्फी घेराबन्दी सुरू भएको छ । पार्टीको आन्तरिक झमेलाले गर्दा उनले विहिबारका बोलाएको केन्द्रीय कार्यसम्पादन समिति बैठक समेत स्थगित गर्नु परको थियो ।
देउवाको नेतृत्वमा पार्टी सुदृढ नहुने र आगामी पाँच वर्ष प्रभावकारी प्रतिपक्षको भूमिका पनि निर्वाह गर्न नसकिने अवस्था सिर्जना भएको दाबीसहित केन्द्रीय सदस्यहरू नेतृत्व परिवर्तनको पक्षमा देखिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र पार्टी महामन्त्री शंशाङ्क कोइराला लगायतले विधानलाई टेकेर केन्द्रीय कार्यसम्पादन र संसदीय बोर्डको वैधानिकतामाथि नै प्रश्न उठाएका छन् ।
पौडेल पक्षले बहिस्कार गर्ने बताएपछि उनले आफु निकटका नेताहरुसँग परामर्श गरेर बैठक स्थगित गरेका थिए । पौडेलपक्षका नेताहरुले विधान विपरीत बनाइएको कार्यसम्पादनको बैठकमा नआउने धम्की नै दिएका छन् । पौडेल पक्षधरहरुले देउवा फेरि पनि पूरानै शैलीले कार्यसम्पादनबाट धेरै कुरा अनुमोदन गराउन खोजिरहेको आरोप लगाएका छन् । नयाँ संविधान अनुसार भएका सबै निर्वाचनमा काँग्रेसको कमजोर उपस्थिति हुनुको कारण देउवाकै कार्यशैली जिम्मेवार रहेको आवाज चर्को रुपमा उठेका बेला विधि र विधानको विषय अझ जोडतोडका साथ उठेको छ ।
अर्कोतिर संगठन शुद्धिकरण पार्टी नेतृत्वबारे पुनःविचार गर्नुपर्ने आवाज समेत उठिरहेको छ । महामन्त्री शशांक कोइरालाले देउवालाई सर्वसम्मत रूपमा संसदीय दलको नेता मान्न सक्ने अवस्था नरहेको बताउँदै विकल्प खोजिने बताइसकेका छन् । कोइराला आफैं संसदीय दलको नेता हुन इच्छुक देखिएका छन् ।
देउवाको पक्षमा प्रत्यक्षतर्फ निर्वाचित एघार जना र समानुपातिकतर्फका २९ गरी ४० जना सांसद छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा प्रत्यक्षतर्फ नौजना र समानुपातिकबाट आएका १० गरी १९ जना सांसद छन्, साथै नेता कृष्णप्रसाद सिटौलाको पक्षमा प्रत्यक्षतर्फबाट आएका तीनजना सांसद रहेका छन् ।








