को हुन् गुण्डा नाइके मनोज पुन ? यसरी अस्ताए प्रहरीको ११ राउण्ड गोलीबाट

काठमाडौं । गत वर्ष पुसमा रुपन्देहीको देवहदमा युवा संघका नेता दुर्गा तिवारीको हत्यापछि आपराधिक दुनियाँमा चर्चाका पात्र बनेका गुण्डा ‘नाइके’ मनोज पुनको अन्त्य भएको छ । भैरहवाको खैरेनीस्थित सुकुम्बासी बस्तीबाट उदाइएका पुनको बुधवार बिहान रुपन्देहीको देवदहमा प्रहरीसँगको मुठेभटमा मृत्यु भएको हो ।

बिहान करिब ४ बजे देवदह–४ भवानीपुरमा गोली लागेर ढलेका पुन र उनको सहयोगी सोम आलेमाथि दुवैजनालाई लुम्बीनी अञ्चल अस्पताल लगिएको थियो । अस्पतालले दुवैलाई मृतक घोषणा गरेको थियो । देवदह २ घर भएका पुन पहिलेदेखि सो क्षेत्रमा धम्की र गुन्डागर्दीमा लागेका व्यक्ति हुन्। सुरुमा उनी केही ठेकदारहरुको पछि लाग्थे। पछि ठेक्कापट्टामा पैसा देखेपछि उनी ठेक्का मिलाउने र कमिसन खाने धन्दामा लागे। राजनीतिक संरक्षणमा त्यो धन्दा अझ सहज हुने देखेपछि उनी एमालेको भ्रातृ संगठन युथफोर्समा लागेका थिए। युथ फोर्सका नाममा पैसा उठाएको आरोपमा उनी कारबाहीमा परे। कारबाहीको प्रस्ताव गर्नेमा दुर्गा तिवारी र बसन्त पौडेल नै थिए।

यही दुस्मनी साँधेर पछि दुवैको उनले हत्या गरे। काठमाडौंमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा पनि उनको संलग्नता रहेको भन्दै प्रहरीले मुद्दा दायर गरेको थियो। एक वर्षदेखि प्रहरी उनको पिछा लागे पनि सफलता हात पारेको थिएन।

को हुन् मनोज पुन ?

पछिल्लो समय एकाएक प्रहरीको टाउको दुःखाईकोे बनेका गुण्डा नाईक मनोज परिवारको एक्लो छोरो हुन् । खैरेनीमा उनको दुईतले पक्की घर छ, जहाँ उनको श्रीमती, एक छोरी र बावुआमा बस्छन् । खैरेनी स्कुलमा ८ कक्षामा पढ्दा नै रेष्टिगेट भएका मनोजले देवदह उच्च माविबाट १२ कक्षा उत्तीर्ण गरेका थिए ।

तत्कालीन युवा संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीको देवदहमा हत्या भएपछि मनोज पुन एकाएक चर्चामा आएका थिए। उनको वास्तविक नाम मनोज बुढा मगर हो। २०७३ पुस ४ गते देवदहको खैरेनीमा तिवारीमाथि गोली चलाउनसाथ उनले प्रहरी प्रमुखसहित पत्रकारहरूलाई फोन गरेर हत्याको जिम्मा लिएका थिए।

त्यसयता प्रहरीले उनलाई फरार अभियुक्तको सूचिमा राखेर खोजी गरेको थियो। उनी युथफोर्स गठन भएको केही समयपछि युथ फोर्स रुपन्देही क्षेत्र नम्बर १ का कोषाध्यक्ष समेत भएका थिए। त्यसअघि र पछि उनी देवदह क्षेत्रमा ठेक्कापट्टाको काममा संलग्न भए। माओवादीका संगठित सदस्य देवदहकै शालिकराम चापागाईं लगायतसँग मिलेर उनले देवदह क्षेत्रमा सानातिना ठेक्कापट्टाको काम गर्थे। पाँच वर्ष अघिसम्म युथफोर्समा रहँदा पनि उनले फिरौती माग्ने, गुण्डागर्दी गर्ने जस्ता गतिविधि जारी राखेका थिए। युथफोर्सको आडमा अपराधिक काम गरेको भन्दै उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको थियो। त्यसपछि उनी माओवादीको वाइसीएलसँग नजिक भए।

प्रहरीका अनुसार पुनले ०७२ फागुन २० मा दुर्गा तिवारीमाथि पहिलो पटक देवदहकै एक इटा कारखाना नजिकै गोली हानेका थिए। उक्त आक्रमणमा बचेका तिवारी ०७३ पुसमा सिकार बने। उनीमाथि गोली हानेको लगायत अन्य घटनाको अभियोगमा ०७३ जेठमा प्रहरीले पुनका सहयोगीहरु रुपन्देही देवदहका २७ वर्षीय शालिकराम चापागाईँ, नवलपरासी सुनवलका ऋषिराम घिमिरे, कास्कीका सन्जोग नेपाली, रुपन्देहीका राजेन्द्र धमेल, उर्गेन गुरुङ, चित्रबहादुर गुरुङ, बेनिराम सोमै, र रवि केसीलाई पक्राउ परे।

०७३ को तिवारी हत्या काण्डपछि पनि पुनले गएको साउन २० गते रुपन्देहीको मणिग्रामका टायल व्यवसायी दुर्गालाल भण्डारीको पसलमा गोली प्रहार गरी घटनाको जिम्मा लिएका थिए। उनले भण्डारीसँग ३० लाख चन्दा मागेका थिए। चन्दा नपाएपछि उनीमाथि गोली प्रहार भएको थियो। यो क्रममा पुनले रुपन्देही, पाल्पा, नवलपरासी, कपिलवस्तु र काठमाण्डौंका व्यवसायीसँग फिरौती उठाइरहेका थिए। गत पुस २१ गते देवदहै फर्निचर व्यवसायी बसन्त पौडेलको पुनले हत्या गरे। फर्निचरमा काठ किन्ने नाममा पुगेका दुई जनाले पौडेलमाथि हत्या गरेका थिए। त्यसयता कुनै आपराधिक गतिविधि भएका थिएनन्। निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पनि पुनको संलग्नता रहेको प्रहरीले बताउँदै आएको थियो। पुनलाई यो क्रियाकलपामा सघाउने झण्डै १६ जना सहयोगी पक्राउ परे पनि पुन पक्राउ परेका थिएनन्।

सम्बन्धित शिर्षकहरु