काठमाडौं । प्रदेश नम्बर ३ मा दर्ता भएका दुई पांग्रे सवारी साधनका लागि इम्बोस्ड नम्बर प्लेट जडान जडान सुरु भएको छ । यातायात व्यवस्था विभागले मंगलबारदेखि दुई पांग्रे सवारी साधनमा समेत इम्बोस्ड नम्बरप्लेट जडान सुरु गरेको हो ।
विभागको सूचना अनुसार नम्बर प्लेट जडानका लागि अनलाइन फारम भर्नुपर्ने हुन्छ। फर्म भरेपछि इम्बोस्ड नम्बर प्लेट जडान हुने मितिको सूचना प्राप्त हुन्छ। सोही अनुसार मातातिर्थस्थित यातायात व्यवस्था कार्यालयमा राजश्व बुझाएपछि मोटरसाइकलमा नम्बरप्लेट जडान हुने छ।
मोटरसाइकलका लागि इम्बोस्ड नम्बर प्लेटको शुल्क २ हजार ५ सय रुपैयाँ राखिएको छ। अन्य देशको तुलनामा जून निकै उच्च हो। भारतमा करिब ६ सय भारुमा मोटरसाइकलमा इम्बोस्ड नम्बर प्लेट जडान हुन्छ। नेपालमा ठेकदार कम्पनीको दबाबमा उच्च शुल्क राखिएको छ। इम्बोस्ड नम्बर जडानका लागि सबै कर तिरिसकेको हुनुपर्ने विभागले जनाएको छ।








