
काठमाडौं । ‘मिस नेपाल २०१८’ को लागी आवेदन खुल्ला गरीएको छ। काठमाडौंमा ‘द हिडेन ट्रेजर’ले पत्रकार सम्मेलन गरी २३ औं संस्करणको आवेदन खुला भएको जानकारी दिएको हो ।
वि.सं २०५१ अर्थात् सन् १९९४ देखि सुरू भएको मिस नेपालमा १९ वर्षदेखि २५ वर्षसम्मका युवतीहरू सहभागी हुन सक्नेछन्। आयोजकले मिस नेपाल प्रतियोगितामा सहभागी हुन ५.४ इन्चभन्दा बढी उचाइ भएका, अविवाहित तथा नेपाली नागरिकता र पासपोर्ट भएका महिलाहरू हुनुपर्ने मापदण्ड तोकेको छ।
आयोजकका अनुसार ८ प्रमुख सहरहरू वीरगञ्ज, धनगढी, विर्तामोड, धरान, चितवन, पोखरा, बुटवल र नेपालगञ्जबाट अडिशन गरि प्रतियोगीहरूको छनोट फेब्रअरी ४ देखि १० सम्म गरिने र फेब्रुअरी १७ मा काठमाडौंमा अन्तिम छनोट हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
अन्तिम प्रतियोगीलाई काठमाडौंमा ७ हप्तासम्मको प्रशिक्षण दिइने छ भने प्रतियोगिताको ग्रान्ड फिनाले ११ अप्रिलमा सम्पन्न गर्ने अायोजकको तयारी रहेको छ ।








