एजेन्सी । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ ।अवे मैदानमा बुधबार राति भएको खेलमा स्टार स्ट्राइकर लियोनल मेस्सी पेनाल्टीमा गोल गर्नबाट चुकेपछि बार्सिलोना स्पानियोलसँग १–० ले पराजित भएको हो ।बार्सिलोना कोपा डेल रे मा गएको अगस्टपछि पहिलो पटक पराजित भएको हो ।
खेल पहिलो हाफमा भने गोल रहित बराबरीमा सकिएको थियो । खेलको ६२ औं मिनेटमा स्पानियोलका खेलाडीले बर्सिलोनाका सेर्गी रोबर्टोलाई फउल गरेपछि बार्सिलोनाले पेनाल्टीको अवसर पायो । लियोनल मेस्सीले प्रहार गरेको पेनाल्टी गोलमा परिणत हुन नसकेपछि बार्सिलोनाले खेलमा अग्रता लिनबाट चुक्यो ।मेस्सीको पेनाल्टी स्पानियोलका गोलरक्षक डिएगो लोपेजले रोके ।
खेलको ८८ औं मिनेटमा स्पानियोलका लागि ओस्कार मेलेन्डोले गोल गरे पछि स्पानियोलले खेल १–० ले जित्यो । क्वाटरफाइनलको दोस्रो लेग जनवरी २५ मा नाउ क्याम्पमा हुनेछ ।क्वाटरफाइनलको पहिलो लेग अन्तर्गत राति नै भएका अन्य खेलहरुमा भ्यालेन्सियाले एलाभेसलाई तथा सेभिल्लाले एथ्लेटिको मड्रिडलाई समान २–१ ले गोल अन्तरले हराए । एथ्लेटिको मड्रिडका लागि डिएगो कोस्टाले एक गोल गरेका थिए । यो सँगै कोस्टाको एथ्लेटिकोबाट चौथो खेलमा तेस्रो गोल हो ।








