सिड्नी । अध्ययन र रोजगारीका लागि अष्ट्रेलिया आउने विद्यार्थी कम छैनन् । साधारण काम र अध्ययनमा अभ्यस्त हुनुपर्ने बाध्यताबाट उठाएर राम्रो आम्दानी गराउने उद्देश्यसाथ नेपाली विद्यार्थी दक्ष बन्न थालेका छन् ।
अष्ट्रेलियास्तरको कफिल बनाउने (बारिष्ठा) तालिमपछि नेपाली विद्यार्थी बार ट्रेन्डिङतर्फ पनि आकर्षित हुन थालेका छन् । यो मौका अष्ट्रेलियामा रहेको सामाजिक संस्था भिजन फर मोटीभेशन (भिएफएम)ले दिएको छ । १८ जना विद्यार्थीलाई बारिष्ठा तालिम दिएको भीएफएमले यसै साता अन्य १८ जना नेपाली विद्यार्थीलाई बार ट्रेन्डिङमा दक्ष बनाएको छ । ‘नेपाली विद्यार्थीको सीपको सीमा पनि अलिक ठूलो बनाएर राम्रो आम्दानी गर्न सक्नुपर्छ भन्ने मान्यतामा हामीले तालिमको व्यवस्था गरेका हौं ।’, भीएफएमका पव्लिक रिलेशन अफिसर आभाष मुडवरी भन्छन्,‘यसै साता बार ट्रेन्डिङ्मा १८ जनालाई दक्ष बनाएका छौं ।’
सिड्नीको डबल ‘वे’ स्थित पेलिकनो बारसँग सम्झौता गरी नेपाली विद्यार्थीलाई यो तालिम दिइएको थियो ।५० डलर तालिम शुल्क लिइएको थियो पेलिकानो बारले जुन ६०% भन्दा बडि छुट् हो । एक दिनमा तीन घन्टाका लागि दिइएको तालिमपछि सहभागीलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । ‘विद्यार्थीलाई काममा पनि दक्ष बनाएर उनीहरूको रोजगारीको दायरा फराकिलो बनाउने उद्देश्यले तालिम गरिरहेका छौं ।’, भीएफएम अध्यक्ष रोशन खतिवडा भन्छन्,‘यसले प्रभावकारी काम हुन्छ भन्ने ठानेका छौं ।’
सीप सिकाईमा अन्यभन्दा नेपालीमा दक्षता कायम गर्न सक्ने क्षमता रहेको तालिमका प्रशिक्षक फ्रान्सेली नागरिक भिनसेन्ट भालियर बताउँछन् । बार ट्रेन्डिङकै रोजगारीमा भने प्रत्येक घन्टा २४ डलर आम्दानी हुनेछ । ‘यो राम्रो आम्दानीको सीप हो । यत्तिको पैसा अन्य काममा हुँदैन । यसले विद्यार्थीको अष्ट्रेलियाको खर्च सरलीकरण हुनसक्ने हाम्रो अनुमान हो ।’, भीएफएम सचिव प्रज्ञा थापाले भन्छिन्,‘सामाजिक उत्तरदायित्वभित्र यस्ता तालिम पर्छन् ।’ विषयमा जानकारी, मोटिभेशन र सहजीकरणका लागि नै संस्था स्थापना भएकाले यस्ता काममा निरन्तर सक्रियता रहने भीएफएम संस्थापक महेश प्रसाई (म्याक्स बाबु) बताउँछन् । यसअघि समुद्री किनारमा कसरी सुरक्षित हुने र मजा लिने विषयमा पनि भिएफएमले नेपाली विद्यार्थीहरुलाई तथा नेपाली समुदायलाई जानकारी दिएको थियो ।










