काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना सकिएपछि वाम गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्रले आइतबार दरबारमार्गस्थित होटल अन्नपूर्णमा संयुक्त पत्रकार सम्मेलनमा दुवैपार्टीको नेताहरको सहभागित रहेको थियो । सम्मेलनमा दुवै पार्टीका नेता कार्यकर्ता र पत्रकारहरूको बाक्लो भीड लागेको बेला पत्रकार सम्मेलनमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल देखिएनन् । काठमाडौं उपत्यकामै भए पनि नेपाल भने आएनन् ।
नेता नेपालको अनुपस्थितिलाई लिएर सहभागी धेरैले विभिन्न अड्कलबाजी पनि गरे । दुवै पार्टीका अध्यक्षले बोल्ने कार्यक्रममा नेता नेपाल नआउनुलाई लिएर एमालेभित्र अनेक आशंका र अनुमान गरिएको छ ।
एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेललगायतका शीर्ष नेता उपस्थित थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादललगायत सहभागी थिए ।
केही दिनअघि एमाले महासचिव ईश्वर पोखरेलले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष एउटै व्यक्ति हुने बताएपछि नेता नेपाल असन्तुष्ट छन् । एमाले र माओवादी केन्द्रबीच एकता भएपछि नेता नेपालले आफू अध्यक्ष बन्ने बताउँदै आएका थिए ।
तर, महासचिव पोखरेलले नै प्रधानमन्त्री र अध्यक्ष एउटै व्यक्ति (केपी ओली) हुने बताएपछि नेता नेपालले त्यसप्रति असहमति जनाउँदै राजधानीमै आयोजित एक कार्यक्रममा भने, ‘पहिले एउटै व्यक्तिलाई दुईवटा पद हुनु हुन्न भन्नेहरू अहिले एउटै व्यक्तिलाई दुवै पद हुनुपर्छ भनेर लागेका छन्, यो ठीक होइन ।’
एमालेको दसौं महाधिवेशनमा नेता नेपाल र महासचिव अध्यक्षका आकांक्षी हुन् । पोखरेल ओली समूहबाट अध्यक्ष बन्न चाहन्छन् । सोही कारण नेता नेपाल र पोखरेलबीच सम्बन्ध चिसिँदै जान थालेको छ ।








