भदौ १५ ,एजेन्सी। चिनियाँ विदेशमन्त्री वाङ यीले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा दोक्लाम मुद्दाबाट चीन पछि नहटेको प्रष्ट पारेका छन। उनले अनधिकृत रुपमा विवादित क्षेत्रमा आएका भारतीय सेना फिर्ता भएका कारण तत्कालका लागि विवाद समाधान भएको बताएका छन ।
चीन र भुटानको सीमा क्षेत्र दोक्लाममा भारतीय र चिनियाँ सेनाबीचको तनाव अन्त्य भएको विषयलाई भारतीय संचारमाध्यमले निकै बढाइ–चढाइका साथ चर्चा गरिरहेको समयमा चिनियाँ दूतावासले भारतीय सेना विवादित क्षेत्रबाट फिर्ता भएपछि तत्कालका लागि समस्या समाधान भएको प्रष्ट पारेको छ ।
उनले भने, ‘७३ दिनदेखिको गतिरोध भारतले आफ्ना सेना फिर्ता गरेपछि अन्त्य भएको हो, अब नयाँ दिल्लीले पाठ सिक्नु पर्दछ र भविष्यमा यस प्रकारको घटना हुनबाट रोक्नु पर्दछ ।’
उनले भारतीय संचारमाध्यममा आएको समाचारतर्फ केन्द्रीत हुँदै भने, ‘मिडियाले आफ्नो अनुमान व्यक्त गर्न सक्छन्, रिपोर्ट बनाउन सक्छन् तर हामीलाई आधिकारिक रुपमा प्राप्त जानकारी अनुसार २८ अगस्टका दिन विवादित क्षेत्रबाट भारतीय सेना हटेपछि गतिरोध अन्त्य भएको हो ।’
भारतीय विदेशमन्त्रालयले भने चिनियाँ विदेशमन्त्रालयको यो भनाइप्रति कुनै प्रतिक्रिया जनाएको छैन । तर भारतीय मिडियामा भने भारतको अडानका कारण दोक्लाम विवादबाट चीन पछि हटेको दाबीसहितका समाचार प्रकाशमा आइरहेका छन् ।








