भदौ १३, लहान । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेश्रो चरणअन्तर्गत दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन् ।
विराटनगरबाट सर्लाहीतर्फ जाने क्रममा आज बिहान सप्तरीको खडक नगरपालिकास्थित विसनपुरमा आयोजित अगुवा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले अन्य प्रदेशमा आफ्नो पार्टी तेस्रो स्थानमा खुम्चिए पनि दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा पहिलो बन्ने दाबी गरे । अध्यक्ष दाहालले “अहिले हामी सम्पूर्ण ध्यान असोज २ गते हुने २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा केन्द्रीत गरेका छौ र यहाँका जनताले पनि असाध्यै माया गर्ने भएकाले यो प्रदेशमा हामी पहिलो पार्टी बन्ने छौं बताए ।”
हामीले प्रदेश नम्बर २ मा १ नम्बर पार्टी बन्न बल गर्दैछौं, उहाँले भन्नुभयो–तपाईहरुले पनि बल गर्नुभयो भन्ने हामीलाई १ नम्बर बन्नबाट कसैले रोक्न सक्दैन् । अध्यक्ष दाहालले माओवादी केन्द्रका कारण देशको एकता र समृद्धि सम्भव भएको उल्लेख गर्दै माओवादीले विगार्न र भत्काउन मात्र सिपालु छ भन्नेलाई आफ्नो नेतृत्वको अघिल्लो सरकारले १० महिनामा त्यो भ्रमलाई पूरै गलत सावित गर्न सफल भएको बताए ।
मधेसमा माओवादी केन्द्रप्रति लहर आएको बताउँदै उहाँले देशलाई एकताबद्ध गर्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने कुरा स्थापित भएको बिचार व्यक्त गरे । सो अवसरमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र रामहादुर थापा लगायतको पनि सहभागिता थियो । रासस








