काठमाडौं । काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक साउन २८ गतेसम्मका लागि स्थगित भएको छ। केन्द्रीय कमिटीका सबै सदस्यहरुको कार्यविभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकताहरु सोध्ने, सल्लाह गर्ने र व्यवस्थित र परिमार्जित प्रस्ताव ल्याउने गरी वैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । पार्टीको केन्द्रीय निकाय अन्तर्गत केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद्, केन्द्रीय आयोगहरु, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभागहरु, केन्द्रीय जनवर्गीय संगठनहरु पर्दछन्। आगामी बैठक साउन २८ गते ३ बजेका लागि डाकिएको छ।
सांगठनिक एकीकरणमा गतिरोध सामना गरिरहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै अध्यक्ष सचिवालय बैठक स्थगन गरेर विदेश भ्रमणमा जाने भएका छन्। सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी नपाएका सबै केन्द्रीय सदस्यसँग परामर्श गरेर विभागीय प्रमुखको टुंगो लगाउने निर्णय गरेको छ।
यसका लागि दुई साताको समय प्रदान गर्ने निर्णय बैठकले गरेको छ। यो बीचको समयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड क्रमशः सिंगापुर र दुबई भ्रमणमा जाने भएका हुन्। ओली स्वास्थ्य उपचारका लागि साउन १८ गते सिंगापुर जाने तयारी रहेको बालुवाटार स्रोतले बतायो।
केही समययता उनको स्वास्थ्यमा समस्या देखिँदै आएको छ। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि मंगलबार दुबई भ्रमणमा जाने निश्चित भएको छ। ‘उहाँको भ्रमण निजी तहको हो। परिवार सदस्यसहित उहाँ दुबई जान लाग्नु भएको हो’, अध्यक्ष दाहाल निकट स्रोतले भन्यो, ‘उहाँले त्यहाँ रहँदा नेपाली समुदायसँग अन्तरक्रिया गर्नेबारे समेत कुराकानी भएको छ।’ पार्टी एकीकरण प्रक्रियामा स्कूल विभागको जिम्मेवार बाँडफाँटलाई लिएर पूर्वएमाले र पूर्वमाओवादीबीच सहमति बन्न सकिरहेको छैन।








