भदौं १३,काठमाडौं । ‘सगरमाथा क्रिकेट क्लब’ ले आफ्नो चौथो वर्ष पूरा भएको उपलक्ष्यमा ‘प्रिजेन्टेसन कार्यक्रम’ सम्पन्न गरेको छ ।अष्ट्रेलियामा रहेर नेपाली समुदायलाई खेल क्षेत्रमा सशक्त पार्न लागिपरिरहेको यो क्लबले आइतबार सम्पन्न कार्यक्रममा यसले विगतमा गरेका कार्य तथा आगामी योजनाहरुबारे चर्चा गरिएको थियो ।
कार्यक्रमको मूख्य विषयको रुपमा अष्ट्रेलियामा रहेको नेपाली समुदायका महिला तथा बालबालिकाहरुलाई खेलमा प्रोत्साहन गर्नु रहेको थियो। जसको लागी क्लबले आधारभूत कार्यको थालनी गरिसकेको बताइएको छ । प्रस्तुत योजना अनुसार, सगरमाथा क्रिकेट क्लबमा छिट्टै नै महिला र बालबालिकाको क्रिकेट टीम घोषणा हुनेछ । नेपाली समुदायका बालबालिकाहरुलाई अष्ट्रेलियाको खेल क्षेत्रमा सशक्त रुपमा अगाडी ल्याउन क्लबले आफ्नो योजनाहरु बनाइसकेको छ । यसको साथै क्लबले अष्ट्रेलिया र नेपालमा सक्षम खेलाडीहरु उत्पादन गर्ने कार्यलाई निरन्तरता दिनेछ ।
कार्यक्रममा क्लबको लागि अबको हेडकोच तथा क्याप्टेनको पनि घोषणा गरिएको थियो । उक्त घोषणा अनुसार क्लबको अबको हेडकोच असिम सुवेदी र क्याप्टेन सुसन गुरुङ रहनुहुनेछ । नेपाली क्रिकेट टीमका क्याप्टेन पारस खड्का तथा खेलाडीहरु सन्दीप लामिछाने, सुवास खकुरेल तथा आइसीसी प्यानलका अम्पायर बुद्धि प्रधानले क्लबलाई बधाई तथा शुभकामना संदेश पठाउनुभएको थियो ।
नेपाली तथा अष्ट्रेलियन राष्ट्रियगानबाट सुरु भएको कार्यक्रममा नेपालका बाढीपिडीतहरुको लागि प्रत्येक टिकट बाट ५ डलर तथा दानपेटिकाबाट सहयोग रकम संकलन गरिएको थियो । उक्त रकम एनआरएनए अष्ट्रेलियालाई हस्तान्तरण गरिएको छ । साथै बाढीपहिरोमा ज्यान गुमाउनेहरुको सम्झनामा मौन धारण गरिएको थियो ।
अष्ट्रेलियाका लागि महावाणिज्यदूत चन्द्र योञ्जन, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष टोनु गोथाने, न्याभका अध्यक्ष डा। अनुपम पोखरेल, क्यानका उपाध्यक्ष नरेश श्रेष्ठ, मेलबर्नका नेपाली समुदायका अगुवा जोग लिम्बु, भिक्टोरिया क्रिकेटका बहुसांस्कृतिक सहभागीता संयोजक हुसेन हनिफ, एएनएमसीका अध्यक्ष रंजन बैद्य, एएनएमसीका दूत सुदीप न्यौपाने र प्रकृति श्रेष्ठ लगायत दुई सय भन्दा बढी अतिथीहरुले कार्यक्रमको शोभा बढाउनुभएको थियो । कार्यक्रममा आयुषा तिवारीको एकल नृत्य तथा सुर्मिला बस्नेत, मनिषा श्रेष्ठ, अनुजा महर्जन, सीमा दाहाल तथा सुप्रिनाको सामूहिक नृत्यले सांगीतिक साथै सांस्कृतिक माहोल छाएको थियो ।
पांच सदस्य, सन्जे क्यान्डी, भुषण श्रेष्ठ, साहस श्रेष्ठ, नबिन श्रेष्ठ र सुमित दाहालबाट सुरु भएको सगरमाथा क्रिकेट क्लबमा हाल ५० खेलाडी र हजारौं समर्थकहरु छन् । ‘हामी क्लब मात्र होइनौं, परिवार होऔं ‘भन्ने आफूहरुको मूलमन्त्र रहेको क्लबका सदस्यहरु बताउँछन् । खेलमा मात्र नभएर क्लबले अष्ट्रेलियामा नेपाली समुदायका विद्यार्थी तथा सहयोगको खाँचो भएका व्यक्तिलाई र नेपालमा समेत सहयोग आवश्यक भएकाहरुलाई सक्दो सहयोग गर्दै आइरहेको छ।








