भदौ ११,काठमाडौं । समुद्री चक्रवाती तुफान हार्वेका कारण अमेरिकाको टेक्सासको जनजीवन प्रभावित भएको छ ।
टेक्सासको तटीय क्षेत्र हुँदै प्रवेश गरेको तुफान प्रतिघण्टा २ सय १५ किलोमिटर गतिमा रहेको छ । अमेरिकाको राष्ट्रिय आँधी केन्द्रले यो तुफानले ठूलो विपत्ति तथा बाढी आउने चेतावनी दिएको छ । 
पछिल्लो १२ वर्ष अमेरिकी भूमिका प्रवेश गरेको यो सबैभन्दा ठूलो समुद्री आँधी हो । हार्वे आँधीका कारण तटीय क्षेत्रका केही घर भत्किएका छन् भने धेरै रुख ढलेका छन् । भत्किएका घरमा मानिस फसेको हुन सक्ने आशंका गरिएको छ । टेक्सासको तटीय क्षेत्रमा बिजुली सेवा बन्द भएको छ । आगलागीका कारण एकजनाको ज्यान गएको छ । यस्तै अबको केही दिन ठूलो पानी पर्ने मौसमविदले बताएका छन् । अहिलेसम्म आँधीका कारण रकपोर्ट शहर बढी प्रभावित भएको छ ।








