भदौं ५, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापा पक्षले पशुपति शमशेर राणा पक्षले नक्कली हस्ताक्षर गरेर दल दर्ताको निवेदन दिएको आरोप लगाउँदै गर्दा सर्वोच्चले रणाको पक्षमा फैसला गरेको छ । राप्रपा टुक्राएर नयाँ राप्रपा (प्रजातान्त्रिक) दल दर्ता गर्ने क्रममा निर्वाचन आयोगले पुनः सनाखतका लागि गरेको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्चको यो फैसलासँगै राप्रपा प्रजातान्त्रिकले दलको मान्यता पाउने सम्भावना बढेको छ ।
न्यायाधीश तेजबहादुर केसीको इजलासले यसअघिकै हस्ताक्षरलाई सनाखत मान्दै दल दर्ता प्रक्रिया अघि बढाउन अन्तरिम आदेश दिएको हो । निर्वाचन आयोगले भदौ ४ गते केन्द्रीय सदस्यहरुलाई सनाखतका लागि उपस्थित हुन सूचना जारी गरेसँगै राणाले सर्वोच्चमा रिट दायर गरेका थिए ।








