साउन १४,काठमाडौं । सीतराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ फाउण्डेसनले घोषणा गरेको ‘नमुना नेपाल’ सरकारबाट अनुमति पाएमा ललितपुरको लेलेमा बन्ने भएको छ । करिब ५ अर्बको लागतमा बनाउने लागेको नमुना नेपाल’ कहाँ बन्ने भन्नेबारे धुर्मुसले शनिबार बेलुका सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन्, उनले भनेका छन् । अन्ततः सरकारले स्वीकृति दिएमा ललितपुर जिल्लाको लेलेमा बन्ने भो ‘नमुना नेपाल’ ।’
२२ वटा जिल्लाका विभिन्न ठाउँको अवलोकन पश्चात ललितपुरको गोदावरी नगरपालिका वडा नं। ५ को लेलेस्थित खाँवा डाँडामा ‘अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल नमुना नेपाल’ निर्माणका लागि उपयुक्त स्थानका रुपमा छनौट गरिएको धुर्मुसको भनाइ छ ।
‘विभिन्न जिल्लाका २२ ठाउँको अवलोकन पश्चात ‘अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल नमुना नेपाल’ निर्माणका लागि सबै चिजले उपयुक्त जमिन ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं। ५ को लेलेस्थित खाँवा डाँडामा फेला परेकोले हाम्रो यस पबित्र अनि देशको चिनारी र पहिचानको परियोजनामा साथ र सहमति दिनुहुने गोदावरी नगरपालिका, सम्पूर्ण राजनैतिक दल, गोदावरी नगरपालिका वडा नं। ५ का सम्पूर्ण स्थानीय बासिन्दा साथै श्री सत्य सामुदायिक बन उपभोक्ता समिति र लालिगुराँस बन उपभोक्ता समितिलाई बिशेष बिशेष धन्यवाद र आभार ब्यक्त गर्दछौं’, धुर्मुसले फेसबुकमा उल्लेख गरेका छन् ।







