माओवादी समूहलाई एकतामा ल्याएरै छाड्ने प्रचण्ड दृढता

साउन ९, काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न धारामा विभक्त माओवादी समुहलाई एकतामा ल्याएरै छाड्ने दृढता व्यक्त गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बताए, “ जनताले पनि माओवादी मिल भन्ने जनादेश दिएका छन् । माओवादी आन्दोलनको मूल प्रवाह माओवादी केन्द्र नै भएको पुष्टि भएको छ । अब एकता गर्नुको विकल्प छैन ।”

उहाँले पुनःपार्टी एकतामा आउन मोहन वैद्य, नेत्रविक्रम चन्द र डा बाबुराम भट्टराईलाई आग्रह गरे । माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी एकताका लागि विशेष प्रस्तावसमेत पारित गरेको छ । अध्यक्ष दाहालले भने, “अब छुट्टाछुट्टै बसेर जनता र राष्ट्रको चाहना पूरा हुन सक्दैन र क्रान्तिको उपलब्धिको समेत रक्षा हुन सक्दैन । आउनुस्, एउटै पार्टीमा बसेर नमिलेका कुरा मिलाउँला, एकता आजको प्रमुख आवश्यकता हो ।” उनले केही समयभित्रै एकता प्रक्रियाले गति लिने विश्वास व्यक्त गरे । संस्थापक नेता कर्माचार्यप्रति सच्चा श्रद्धाञ्जलि अर्पण गर्ने हो भने सच्चा क्रान्तिकारी मिल्नाको विकल्प नभएको उहाँको कथन थियो । उनले सबै शक्तिका बीचमा एकता गरेर जनतातिर फर्कने हो भने माओवादी पुनः पहिलो शक्तिका रुपमा स्थापित गर्न सकिने उनको दृढता थियो ।

अध्यक्ष दाहालले, “ मेहनत गर्ने क्रान्तिकारी कार्यकर्ता पंक्ति छ, विगतमा हामी बिग्रिएका हौँ। केही सुधार गरेर जनपक्षीय एजेण्डाका साथ जाने हो भने हामी पुनःसफल हुन सक्छौँ ।” ‘उज्यालो नेपाल अभियान’मार्फत जनतामा परेको सकारात्मक प्रवाहले माओवादीले मात्रै मुलुकको आर्थिक समृद्धि गर्न सक्छ भन्ने स्पष्ट भएको अध्यक्ष दाहालको भनाइ थियो ।

आफ्नो नेतृत्वको सरकारले आर्थिक वृद्धि दर सात प्रतिशतको हाराहारीमा पुगेको, चीन र भारतसँगको सम्बन्ध नयाँस्तरमा विकास भएको, संविधान कार्यान्वयनले गति लिएको, मुलुक राजनीतिक स्थिरताको चरणमा प्रवेश गरेकाले जनतामा नयाँ विश्वास पैदा भएको जिकिर गरे । फरक एक प्रसंगमा उनले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनपछि अन्धराष्ट्रवादको बोलवाला बढेको तर त्यसले मुलुकको हित नगर्ने स्पष्ट पारे । रासस

 

सम्बन्धित शिर्षकहरु