अष्ट्रेलिया । अष्ट्रेलियास्थित नेपाली दूतावास क्यानबेरा र नेपाली महावाणिज्यदूतको कार्यालय न्यूसाउथवेल्सका संयुक्त आयोजनामा सिड्नीमा पर्यटन प्रबद्र्धन कार्यक्रम आयोजना गरिएको छ ।
स्थानीय मोर पार्कको गल्फ क्लबमा भएको उक्त कार्यक्रममा अष्ट्रेलियाको फेडरल सांसद लिन्डा बर्नी प्रमुख अतिथिको रुपमा उपस्थित थिइन् । बौद्ध मन्त्रोच्चारणसहित पानसमा बत्ती बालेर सुरुवात गरिएको कार्यक्रममा सिड्नीमा रही ट्राभल र टून व्यवसायमा संलग्न व्यवसायहिरुको उपस्थिति थियो ।
यसैगरी नेपाली समूदायका अगुवाहरु पनि उक्त कार्यक्रममा उपस्थित थिए । उक्त अवसरमा बोल्दै सांसद बर्नीले आफु छिट्टै नेपाल जान इच्छुक रहेको बताएकी थिइन् । उनले अष्ट्रेलियामा छिटो विकास गरिरहेको नेपाली समाजको प्रशंसा गर्दै नेपालीहरुको देशमा एक वर्षभित्रै जाने योजना आफ्नो रहेको सुनाएकी थिइन् । कार्यक्रममा बोल्दै अष्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत राजेन्द्र पाण्डेले नेपालमा संविधान बनेर पहिलो चरणको स्थानीय निर्वाचन सम्पन्न भइसकेको अवस्थामा स्थिरता आएको हुनाले नेपाल भ्रमण गर्न उपयुक्त समय अहिले नै भएको धारणा राख्नुभएको थियो । लगानीका लागि समेत नेपाल उपयुक्त थलो भएको उहाँको भनाई थियो । नेपालमा विनाशकारी भूकम्पपछि भ्रमण गरेका सिनेटर शाम डेष्टियारीले एक सन्देश पठाउँदै सुन्दर देश नेपाल र नेपालीको प्रशंसा गरेका थिए । आफ्नो भ्रमणको स्मरण गर्दै उनले नेपालले छिट्टै आर्थिक गति हासिल गर्ने अपेक्षा गरेको बताएका थिए ।








