काठमाडौं,जेठ २५- खेलकुदका साथै सामाजिक कार्यमा संलग्न रहँदै आएको मार्सल आर्ट अर्गनाइजेसन– नेपालको आयोजनामा प्रथम राष्ट्रिय खुला जुनियर उसु प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।प्रतियोगितामा विभिन्न ४० जिल्लाका करिब ३ सय ५० खेलाडीको सहभागिता रहने आयोजक अर्गनाइजेसनका अध्यक्ष राजीव महर्जनले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सान्सौंमा २० र थाउलोमा १८ गरी जम्मा ३८ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
सान्सौं र थाउलोतर्फ उत्कृष्ट चुनिने २ पुरुष र २ महिला गरी ४ खेलाडीलाई राष्ट्रिय टिमसंग प्रशिक्षणको अवसर दिलाउन पहल गरिने पोल्यान्डमा मार्सल आर्ट क्षेत्रको अवार्ड हल अफ फेम– २०१६ बाट सम्मानित भइसकेका अध्यक्ष महर्जनले बताए । जुनियर तहबाटै भविष्यका प्रतिभावान खेलाडीको पहिचान गर्न सकिने भएकोले प्रत्येक दुई–दुई वर्षमा प्रतियोगिता गर्ने आयोजकले प्रतिबद्धता व्यक्त गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य अर्जुनबहादुर केसीले जुनियर स्तरका प्रतियोगिताले नयाँ पीढीका खेलाडीलाई खेल क्षेत्रमा लाग्न प्रेरणा दिने बताउदै प्रतियोगिता सफलताका लागि शुभकामना दिए । राष्ट्रिय उसु टिम तयारीमा रहेका खेलाडीको समेत सहयोगमा सञ्चालन गर्न लागिएको तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुनेछ ।








