वैशाख ३१ ।काठमाडौँ,स्थानीय तहअन्तर्गत पहिलो चरणमा मुलुकका ३४ जिल्लामा आज भएको निर्वाचनमा करिब ७१ प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उक्त्त जानकारी दिनु भएको हो । उहाँले ३, ४ र ६ नम्बर प्रदेशका २८१ स्थानीय तहमा भएको निर्वाचनमा ७१ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिनुभयो ।
आम मतदाताको ठूलो सहभागिता एवम् शान्तिपूर्ण र व्यवस्थितरुपमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनमा महत्वपूर्ण योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित वडा सदस्य पदका लागि भएको निर्वाचनमा विशेष गरी महिला, दलित, अल्पसङ्ख्यक समुदायको सहभागिता निकै उत्साहप्रद रहेकोमा आयोगले हर्ष प्रकट गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा यादवले स्थानीय तहका लागि भएको मतदान कार्य छिटफुट घटनाबाहेक शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको बताउनु भयो ।
आयोगले नचाहँदा नचाहँदै पनि काभ्रेको नमोबुद्ध नगरपालिका–४ को मतदान केन्द्र, कालीकोटको कालिका गाउँको बालाचौर आधारभूत विद्यालयमा भएको मतदान केन्द्रको निर्वाचन स्थगित भएको तथा दोलखाको मेलुङ गाउँपालिकाअन्तर्गत सत्येश्वर मतदान केन्द्रमा सुरक्षा कारबाहीमा एक जनाको निधन भएको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा यादवले आजको मतदानमा देखिएको सहभागिताले जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनमा सहभागी हुनुहुने मतदातालाई पनि उत्साहित बनाउनेछ भन्ने विश्वास आयोगले लिएको बताउनुभयो ।
आयोगको आफ्नो तयारी र निर्वाचन व्यवस्थापनको कमी कमजोरीले कुनै मतदान केन्द्रमा गम्भीर समस्या उत्पन्न नभएको र सहजढङ्गले मतदान कार्य अगाडि बढाउन आयोग सफल भएको आयोगले दाबी गरेको छ ।








