मणिपाल अस्पताललाई स्पष्टीकरण दिन अल्टिमेटम

काठमाडौँ, मुस्ताङको कागबेनी घटनाका घाइतेहरुलाई उपाचार नगरिएको भन्दै स्वास्थ्य मन्त्रालयले पोखरास्थित मणिपाल शिक्षण अस्पतालसँग माग गरेको छ ।

मन्त्रालयले पत्र बुझेको २४ घन्टाभित्र स्पष्ट कारण र आधारसहित स्पष्टीकरण पेस गर्न मणिपाल शिक्षण अस्पताललाई आईतवार निर्देशन दिएको छ ।

संविधानको धारा ३५ उपधारा १ मा ‘प्रत्येक नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिनेछैन’ भन्ने संवैधानिक व्यवस्था विपरीत त्यहाँका चिकित्सकले घाइतेलाई आकस्मिक सेवा नदिएकाले स्पष्टीकरण मागिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ बमोजिम स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकाले स्वास्थ्य सेवा प्रवाह गर्ने ठाउँमा बन्द, हडताल गर्न नपाईने भएकाले उनीहरुले कानुनको उल्लङ्घन गरेको मन्त्रालयको ठहर छ ।

संवैधानिक तथा कानुनी दायित्व उल्लङ्घन गरेकाले त्यस संस्थालाई प्रचलित कानुनबमोजिम किन खारेजीसम्मको कारबाही नगर्ने भनेर मन्त्रालयले मणिपाल शिक्षण अस्पताललाई स्पष्टीकरण पत्र पठाएको छ ।

मन्त्रालयले घटनाको छानविन गर्न चिकित्सा सेवा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति पनि गठन गरेको छ । समितिको सदस्यमा वीर अस्पतालका डा ढुण्डीराज पौडेल र मन्त्रालयका उपसचिव भवनाथ खतिवडा रहनुभएको छ । समितिलाई तीन दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।

सम्बन्धित शिर्षकहरु