काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुल तेस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा वेस्ट ब्रुमलाई १–० ले पराजित गर्दै लिभरपुल लिगको तेस्रो स्थानमा उक्लिएको हो ।
वेस्ट ब्रुमको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिनोले एक मात्र निर्णायक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा फिर्मिनोले गरेको गोल नै लिभरपुलको जितमा निर्णायक बन्यो । खेलमा घरेलु टोलि वेस्ट ब्रुमले पनि केहि गोलको अवसर पाएको थियो तर, गोल गर्न नसक्दा पराजित भयो ।
यो जितसँगै लिभरपुलले म्यानचेस्टर सिटीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको हो । लिभरपुलले ३३ खेलबाट ६६ अंक बनाएको छ । वेस्ट ब्रुम ४४ अंक जोडेर लिगको आठौं स्थानमा छ । चौथो स्थानमा झरेको सिटीको ३२ खेलबाट ६४ अंक छ । लिगमा ७५ अंक जोडेको चेल्सी शिर्ष र ७१ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा छ ।








