मुसहर समुदायलाई बुझाउँदा धुर्मुसले के भने ? (पूर्णपाठ)

एकीकृत मुसहर बस्ती हस्तान्तरण समारोहका प्रमुख अतिथिद्वय हास्य सम्राट मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य
कार्यक्रमका विशिष्ट अतिथि नेपाल सरकारका मुख्य सचिव डा सोमलाल सुवेदीज्यू
विशेष अतिथि जनकपुरधाम सफाइ अभियानका अभियन्ता एवम् गंगासागर आरतीका प्रणेता रामाशीष यादवज्यू, नाष्टका भाइस कन्सुलरज्यू,
चलचित्र क्षेत्रसँग सम्बन्धित आदरणीय व्यक्तित्व सुप्रशिद्ध नायक सरोज खनालज्यू, एक्सन किङ नायक शिव श्रेष्ठज्यू, रवीन्द्र खड्काज्यू, हास्य साम्रागी, बसुन्धरा भुसालज्यूलगायत सम्पूर्ण कलाकारज्यूहरू
सञ्चारकर्मी मित्रहरू, सभामा पाल्नुहुने बर्दिबासबासीज्यूहरू,
सबैमा हार्दिक नमस्कार एवम् अभिनन्दन प्रकट गर्न चाहन्छु ।
पूर्व–पश्चिम राजमार्ग सफाइका क्रममा गत वर्ष पुसको १३ गते यहाँ पाइला टेकेका थियौँ । नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले पुस ९ गतेदेखि १७ गतेसम्म सरसफाइ अभियान सञ्चालन गरेको थियो र सोही क्रममा हामी यहाँ आइपुगेका थियौँ । बस्तीमा आइपुग्दा हाम्रा आँखा साँच्चिकै रसाएका थिए । रोग भोक र शोकमात्र होइन, पुस्तैनी दुःख र अभावको जाँतोमा पिसिइरहेका दिनहीन मुसहर समुदायको दूरवस्थाले हामीलाई छटपटि भएको थियो । र, हाम्रो हृदय कटकटी खाएको थियो । बस्तीमा बालविवाह चरम थियो । बालबच्चाहरू पोषणयुक्त आहार–व्यहारको अभावमा कुपोषणको सिकार थिए । बालबच्चाको भरण–पोषण, रेखदेख गर्नुपर्छ भन्ने कुनै चेतना थिएन । पुसको महिना शीत तपतपि चुहिने घर, ओढ्ने ओछ्याउने थिएनन् । रोगी, सुत्केरीहरू पराल ओछ्याएर सुतिरहेका । कठ्यांग्रिइरहेका । हृदयविदारक अवस्था थियो । बच्चाबच्चाहरू कोही पनि विद्यालय जाँदैन थिए । यी दृष्यले हामीलाई निकै भावुक बनाएको थियो ।
स्थानीय पत्रकार तथा सामाजिक अभियन्ता राजकरण महतो जसले हामीलाई मुसहर समुदायको व्यथासँग घुलमिल हुने मौका प्रदान गरे । पत्रकार र कलाकारको संयुक्त प्रयासले ल्याएको आमुल परिवर्तन हो यो एकीकृत नमुना मुसहर बस्ती ।
हाम्रो आगमनपछि  गाँस, बास कपासको व्यवस्था ग¥यौँ । शीतलहरबाट बचायौँ । र, आज सिंगो बस्तीको मुहार फे¥यौँ । अहिले सबै केटाकेटीहरू विद्यालय जान्छन् । कापीकलम र ड्रेससहित विद्यालय जाँदा हाम्रो मन खुसीले पुलकित हुन्छ । ती भीडमा हामी हाम्रै छोरी भेट्टाउँछौँ । तीन वर्षे काखेछोरी, जसले मेरो उपनाम मात्रै जान्दछिन्– धुर्मुस्बाबा । उनलाई छोडेर समग्रबालबालिकासहित यहाँका बालबालिकाको खुसी खोज्न आएको सार्थक भएको भान हुन्छ हामीलाई ।
हामीले त्यहीबेला अठोट लिएका थियौँ– यहाँका मुसहर समुदायको अनुहारमा हाँसो, खुसी छर्छौं । बस्तीमा उज्यालोले आकार लिन र सपनाले साकार रूप धारण गर्न समय लागेन । पुस २५ गते शिलान्यासका दिन जुन बाचा, कबोल गरेका थियौँ– वैशाख १ गते नयाँ वर्षका दिन बस्ती हस्तान्तरण गर्छौं । त्यो बाचा पूरा गरेका छौँ । हामी चाहन्छौँ– सबैले यसैगरी आफ्ना बाचा पूरा गरौँ ।
।  हामीले एकीकृत बस्ती विकासको सुरुआत गर्दै काभ्रेको पहरी बस्ती र सिन्धुपाल्चोको गिरानचौरसम्म पुग्दा हिमाल–पहाडबीच मात्रै होइन आपतविपतमा परेका नेपालीनेपालीबीच सद्भाव र सदाशयता–सेतुको भावना जागृत गराउन केही हदसम्म सफल भएका थियौँ । खाँचो थियो– तराई–मधेसमा सद्भाव सञ्चार गराउने । र, त्यसैको कडी हो एकीकृत नमुना मुसहर बस्ती । तराई– पहाडबीच सद्भाव विस्तार गर्ने हाम्रो प्रयास थियो, जुन आज पूरा भएको छ ।
आजको सन्दर्भमा वचनले मात्रै सद्भाव वृद्धि गर्न सक्दैन । आश्वासनका दाउराले मात्रै चुल्हो तात्दैन । व्यथाको घाउ वचनले मात्रै निको हुँदैन । भित्रैदेखि दत्तचित्त भएर कर्ममा होमिनुपर्छ । त्यसैले त ठडियो एकीकृत नमुना मुसहर बस्ती । विविध भाषाभाषी, जातजाति, समुदाय र सम्प्रयादको सुयोग्य फूलबारी हो नेपाल । एकआपसलाई तोडेर होइन जोडेर मात्रै समुन्नतीको राजमार्ग खडा गर्न सकिन्छ । एकीकृत नमुना मुसहर बस्ती मधेस विकासको आधाशीला मात्रै होइन, देश निर्माणको प्रक्रिया पनि हो ।
देश एकीकृत विकासकै अवधारणाले बन्ने हो । यदी हामी साँच्चिकै देश बनाउँछौँ भनेर लाग्छौँ भने एकीकृत बस्ती विकास गर्नैपर्छ । देश रेडिमेड भासनले बन्दैन । असल कर्म र इच्छाशक्तिले मात्रै बन्छ । देश शक्ति, पैसा र पावरले बन्ने होइन, टाइमिङको आवरले बन्ने हो । आन्दोलन र भासनले मात्रै मुलुक बन्दैन, सुशासनले बन्ने हो । स्पष्ट रोडम्याप र विकासको खाका चाहिन्छ देश बन्न ।
बालमैत्री, अपांगतामैत्री, वातावरणमैत्री, संरचना कागजमा लेखिएर हुँदैन । त्यो पूर्वाधारको विकासका लागि पनि बस्ती एकीकृत नै हुनुपर्छ । अर्को, हामीले समतामूलक समाजको धेरै कुरा ग¥यौँ । साम्यवादको पाठ पनि पढ्यौँ । यही हो समानुपातिक, साम्यवाद, समावेसीको उदाहरण । कसैका घर कसैभन्दा कम छैनन् । समान छन् । एकनासे छन् । सबैका बालबालिकाहरू एकैठाउँमा खेल्छन् । रम्छन्, रमाउँछन् । कुनै बालबालिकाले उँचनिच महसुुस गर्नुपर्दैन । बालबालिकाको वृद्धिविकासको दरिलो आधार पनि यही हो ।
घर जिन्दगीभरीको सपना हो । यसकिसिमको घरमा बस्ने यहाँका मुसहर दाजुभाइ दिदीबहिनीहरूको सपना शायदै पूरा हुन्थ्यो । हाम्रो प्रयत्न, सहयोगी मनहरूको साथ र उहाँहरूको लगनशीलताले घर बनेको छ । घर बनेपछि मानिसमा अरु इच्छाशक्ति जाग्छ । काम गर्ने आँट र जाँगर पैदा हुन थाल्छ । दाउरा बेच्न जाने, फर्कंदा दुःखी अनुहार लिएर आउने दिनचर्या अब साँच्चिकै बदलिन्छ ।

हामीले हिमाली जिल्ला सिन्धुपाल्चोकमा गिरानचौरमा एकीकृत नमुना बस्ती निर्माण ग¥यौँ । पहाडी जिल्ला काभ्रेको डाँडा गाउँमा एकीकृत नमुना पहरी बस्ती बनायौँ । अहिले तराई–मधेसमा एकीकृत नमुना मुसहर बस्ती निर्माण ग¥यौँ । हो, अब हामी गर्वका साथ भन्छौँ– एकीकृत बस्ती निर्माणमा हामीले ह्याट्कि पूरा ग¥यौँ । दुई वर्षभित्र तीन बस्ती र एक वर्षभित्र दुई बस्ती उभ्यायौँ । मात्रै तीन महिनामा मुसहर बस्ती बनायौँ । छियाछिया भएका मनहरूलाई एक बनायौँ । समग्रमा हिमाल–पहाड–तराईलाई सद्भावको एउटै सूत्रमा उन्यौँ । रकेटको स्पिडमा काम गर्नुपर्छ, अनिमात्र देश बन्दछ । हाम्रो मूलभाव यही हो ।
हाम्रो अभियान सरकार, पार्टी या दललाई च्यालेन्ज होइन सहयोग हो । जुनसुकै पार्टीको सरकार बने पनि सरकारलाई सहयोग गर्नु नागरिकको कर्तव्य हो । सरकारलाई बलियो नबनाइ मुलुक दरिलो बन्दैन । हाम्रो अभियान सरकालाई बलियो बनाउने अभियान हो ।
बस्ती उभ्याउन र मुसहर समुदायलाई हँसाउन आर्थिक, भौतिक, नैतिक सहयोग जुटाउने देशविदेशका सहृदयी मनहरूप्रति हार्दिक नमन, आभार अभिनन्दन व्यक्त गर्न चाहन्छौँ । उहाँहरू हाम्रो लागि प्राणवायु हो । पहिलो, दोस्रो र तेस्रो बस्तीसम्म हामीलाई सहयोग गर्ने सम्पूर्ण सहृदयी मनहरूलाई सलुट टक्¥याउन चाहन्छु ।
‘राष्ट्र निर्माण तपाईं–हाम्रो अभियान’ हिजो धुर्मुस् सुन्तली फाउन्डेसनको मात्र नारा थियो, आज सिंगो देशको नारा बनेको छ । जुन चिज बर्दिबासले आज देखाइसकेको छ । प्लेकार्ड, तुल, व्यानर गेट आदिमा जसरी सद्भावको नारा लेख्नुभएको छ, राष्ट्रिय एकताको सन्देश अगाडि सार्नुभएको छ । यसले सिंगो देशलाई सन्देश दिएको छ, राष्ट्रिय एकता र सद्भावको । जुन हामीले खोजेका थियौँ र देशले खोजेको पनि यही थियो ।
हामीले पटक–पटक जिन्दावाद मुर्दावादका नारा लगायौँ तर, विकासका नारा कहिल्यै लगाएनौँ । तर, आज बर्दिबासले विकासको नारा लगाएको छ । यहाँ हामी कोही मधेसी छैनौँ, कोही पहाडी छैनौँ । यहाँ त मात्र नेपाली छौं ।  हामीले मानवता पनि बिर्संदै गएका छौँ । कतै दुर्घटना हुन्छ, तर हामीलाई सेल्फी खिच्न हतार हुन्छ । फेसबुकमा चढाउन र लाइक बढाउन हतार हुन्छ । कहिले हामीले विकासका लागि सेल्फी खिचेनौँ । विकासका लागि आवाज उठाएनौँ । किनकि हामी कहिल्यै पनि नागरिक भएनौँ । सबै पार्टीका भयौँ । यो दल, ऊ दल, बहुदल, निर्दल मात्रै भयौँ । अब हामी नागरिक मात्र बन्नुपर्छ ।
हामीले नयाँ केही गरेका छैनौँ । भिजन र नेतृत्वसीप भए धेरै गर्न सकिन्छ भन्ने देखाएका मात्रै हौँ । आज हाम्रो सपना पूरा भएको दिन हो । हामीसँगै तीन करोड नेपाली जनता खुसी भएको दिन हो आज । हाम्रो छाती मात्र होइन सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनीको छाती गर्वले ढक्क फुलेको दिन हो । सबैले आज मन गरिरहनुभएको होला, हाम्रो देश हामीले नै बनाउन सक्छौं । र, एकदिन हामीले कल्पना गरेको नेपाल साँच्चिकै बन्छ ।
हामीलाई विश्वास छ, फूल जस्ता यहाँका बालबालिकाहरूको हाँसोमा सदा खुसी फक्रिइरहने छ । जून जस्ता यहाँका आमा दिदीबहिनीहरूको अनुहारमा दिप्ती चहकाइ रहनेछ । यहाँका बुबा दाजुभाइहरू बस्तीको विकास र समुन्नतीका लागि एक गट्ठा हुनेछन् । कलिलै उमेरमा विवाह गर्न बाध्य चेलीहरूको आँखामा दाइजो र दुव्र्यवहारको आँसु होइन, शिक्षाको उज्यालो हाँसो हुनेछ । अभावले खिइएको मझेरीमामा  वास्तवमै सुख छाउने छ । हामीले त बस्ती निर्माण ग¥यौँ । आयआर्जन, सीप विकासका लागि वैज्ञानिक प्रविधिबाट नास्टले कार्यक्रमहरू अगाडि बढाउने सम्झौता गरिसकेको छ । अब हामीमात्र नभएर यहाँहरूसँग सरकारसमेत छ । यहाँका उद्योगी, व्यापारीहरू हुनुहुन्छ । सरकारी तथा गैरसरकारी संघसंस्थाहरू छन् । बस्तीको विकासका सँगै उहाँहरूको जीवनस्तर उकास्न पनि सबैले एकपटक खुलेर सहयोग गरौँ । म अपिल र अनुरोध गर्न चाहन्छु ।
संसारभरी छरिएर रहेका नेपाली, नेपाली भाषीहरू जसले हामीलाई धेरै रगत पसिना बगाएर सहायता प्रदान गर्नुभयो । कतारमा रहेका व्यवासायी तथा समाजसेवी प्रकाश कोइराला जसले हामीलाई ४० लाख यो परियोजनका लागि व्यक्तिगत सहयोग गर्नु भयो । उहाँले महत्त्वपूर्ण बेलामा महत्त्वपूर्ण सहयोग गर्नुभएको थियो । अस्ट्रेलियाबासी जसले हामीलाई रु ६५ लाख सहयोग गर्नुभयो । त्यसले हामीलाई निकै ऊर्जा थप्यो । आर्थिक संकट भइरहेको बेला, परियोजना हस्तान्तरण भन्दा दश दिन अगाडिमात्रै अमेरिकाको मिनेसोटा राज्यका नेपालीहरूको संस्था नेपाली कम्युनिटी इन मिनेसोटाले दुई करोड दश लाख दिएर परियोजनाको अनुमानित रकम पूरा गरिदिनुभयो । सम्पूर्ण मिनेसोटाबासी नेपालीहरूलाई हृदयदेखि धन्यवाद अर्पण गर्न चाहन्छु । कोरियाको राष्ट्रप्रेमी स्वतन्त्र नागरिक अभियानबाट, अमेरिकाको बोस्टन राज्यबाट, कुबेतलगायतका ठाउँबाट हामीलाई विशेष सहयोग प्राप्त भएको छ । सहयोग सानो ठूलो हुँदैन  । जोजो जुनजुन देशमा हुनुहुन्छ सबैले उत्तिकै सहयोग गर्नुभएको छ ।
स्थानीय तह निर्वाचनको सरगर्मी बढिरहेको छ । यहाँबाट निर्वाचित हुने जनप्रतिनिधिले यस बस्तीको विकासमा सहयोग पु¥याउने विश्वास लिएका छौँ । हाम्रो यो यात्रामा सघाउनुहुने नेपाल सरकार जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयहरू र बर्दिबासस्थित बर्दिबास उद्योग वाणिज्य संघ, होटल व्यवसायीस संघ महोत्तरी, बर्दिबास होटल व्यवसायी संघमा आवद्ध व्यक्तिहरू, क्रसर उद्योगी व्यवसायीहरू, बर्दिबास नगरपालिका र नगरपालिकाका कार्यकारी अधिकृतज्यू, इलाका प्रहरी कार्यालय जसले हामीलाई २४ घन्टा सुरक्षा दियो । सशस्त्र प्रहरी बल, जसले हामीलाई श्रमदान गरेर सघायो । क्विक भोलेन्टियर जो हामीसँग गिरानचौरदेखि नै साथमा रह्यो । अन्य स्वयमसेवी समूहहरू । र, विशेष गरी यो परियोजनासँग सम्बन्धित प्रोजेक्ट म्यानेजर, ओभरसियर, इन्जिनियर, सुपरभाइजर एवम् सम्पूर्ण फाउन्डेसनका सहकर्मीज्यूहरू, आफ्नो घरको भन्दा मुसहर दाजुभाइहरूको पीडा ठूलो ठानी अनवरत खट्ने मिस्त्री, ज्यामीहरू सबैलाई धन्यवाद दिन चाहन्छु । र, सम्पूर्ण बर्दिबास बासीलाई आभार व्यक्त गर्न चाहन्छु ।
बस्ती हस्तान्तरण समारोहमा पाल्नुहुने सम्पूर्ण अतिथिज्यूहरू, सञ्चारकर्मी, गन्यमान्य, प्रतिष्ठित सबैमा हृदयदेखि आभार प्रकट गर्दै फाउन्डेसनले यस्तै उदार सहयोग पाइरहने विश्वास व्यक्त गर्न चाहन्छ ।
नयाँ वर्ष २०७४ सबैको लागि मंगलमय बन्न सकोस् । सद्भाव वृद्धिको बिम्ब बन्न सकोस् । सुमधुर सम्बन्धको आयाम बन्न सकोस् । हार्दिक शुभकामना व्यक्त गर्दै यो सभा यही समापन भएको घोषणा गर्दछु ।

राष्ट्र निर्माण तपाईं हाम्रो अभियान !
सीताराम कट्टेल ‘धुर्मुस’
२०७४ वैशाख १ गते

सम्बन्धित शिर्षकहरु