काठमाडौँ । लियोनल मेस्सीले दुई गोल गरेपछि स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई ३–० ले पराजित गरेको हो ।
घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले अम्तिम समय १० खेलाडीमा समेटिएको सेभियालाई सुरुवाती समयबाटै दबाबमा राखेको थियो । र, बार्सिलोनाले सेभियाविरुद्ध तीनै गोल पहिलो हाफमा गर्यो । खेलमा बार्सिलोनाले लुइस स्वरेजको गोलबाट २५ मिनेटमा अग्रता बनाएको थियो । स्वरेजले गोल गरेको ३ मिनेटपछि नै मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता २ – ० बनाए ।
त्यसपछि खेलको ३३ औ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा बार्सिलोना ३ – ० ले अघि रह्यो । अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा ४ खेलको प्रतिबन्ध तथा क्लब फुटबलमा १ खेलमा निलम्बन परेर मैदान फर्किएका मेस्सीले पहिलो खेलमै दुई गोल गरेका हुन् ।
खेलको ९१ औ मिनेटमा माचिन पेरेज दोहोरो पहेँलो कार्ड खाएर मैदानबाट बाहिरिएपछि सेभिया १० खेलाडीमा समेटियो । तर, दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन र खेल बार्सिलोनाले ३ – ० लेआफ्नो बनायो ।
यो जितसँगै लिगको दोस्रो स्थानमा रहेको बार्सिलोनाले ३० खेलबाट ६९ अंक बनाएको छ । र, बार्सिलोना शिर्ष स्थानको रियल मड्रिड भन्दा २ अंकले पछि छ । शिर्ष स्थानको रियल मड्रिडको २९ खेलबाट ७१ अंक छ ।








