समृद्धि र विकासको लागि एमालेले बनाउँदै योजना

काठमाण्डौं ।प्रमुख प्रतिपक्षी दल एमालेले चुनावी तयारीसँगै ‘२५ वर्षे विकास र समृद्धिको दीर्घकालीन’ योजनासम्बन्धी गृहकार्य अघि बढाएको छ। अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहितका शीर्ष नेताको उपस्थितिमा सोमबार बृहत् विद्वत्सभा आयोजना गरी एमालेले त्यससम्बन्धी गृहकार्य अघि बढेको जानकारी गराएको हो।

विसं। २०९९ सम्म विकासशील हुँदै विकसित मुलुकको दर्जामा पुर्याउने गरी नीतिगत, संरचनागत र कानुनी आधार तयार पार्ने उद्देश्यले गृहकार्य सुरु गरिएको सचिवालय सचिव प्रदीप ज्ञवालीले बताए । ‘पच्चीस वर्षमा नेपाललाई समृद्धिको उचाइमा पुर्याउन गर्नुपर्ने तात्कालिक काम र दीर्घकालीन कामका सन्दर्भमा नीतिगत, संरचनागत र कानुनी आधारका लागि विद्वत्वर्गको सुझाब लिएका हौँ,’ सचिवालय सचिव ज्ञवालीले भने, ‘हामी समग्र बहसलाई विकास र समृद्धितर्फ केन्द्रित गर्दै अब राष्ट्रको प्रमुख एजेन्डा बनाउन चाहन्छौँ ।’ विद्वत् सुझाब कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा राष्ट्र बैंकका पूर्वगर्भनर डा। युवराज खतिवडाले विकास र समृद्धिसम्बन्धी दीर्घकालीन योजनाबारे अवधारणापत्र प्रस्तुत गरेका थिए । एमालेले पार्टीको नवौँ महाधिवेशनबाट समृद्ध नेपाल, सुखी नेपालीको नारासहित २५ वर्षपछिको समृद्ध नेपाल बनाउने ‘मोडेल’ अघि सार्ने नीति पारित गरेको थियो।

विभिन्न क्षेत्रका करिब डेढ सय विज्ञ सहभागी कार्यक्रममा एक सयजनाले अबको विकसित र समृद्ध नेपालको खाकाका सन्दर्भमा गर्नुपर्ने संवैधानिक, कानुनी, संरचनागतलगायत सुझाब राखेका थिए । संविधानविद् काशीराज दाहाल, कूटनीतिज्ञहरू हिरण्यलाल श्रेष्ठ, राजेश्वर आचार्य, डा। महेश मास्के, शम्भुराम सिंखडा, अख्तियारका पूर्वप्रमुख सूर्यनाथ उपाध्याय, डा। डिल्लीराज खनाल, डा। खिमलाल देवकोटा, डा। विद्यानाथ कोइराला, डा। गणेशमान गुरुङ, डा। गोविन्दबहादुर गुरुङ, सिचुआन युनिभर्सिटीका प्रा डा कृष्णप्रसाद ओली, डा। पीताम्बर शर्मा, इन्जिनियर सरोजकुमार उपाध्याय, पयर्टनविद् सुमन पाण्डे, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्य, उद्योगपति हरिभक्त शर्मा, वरिष्ठ पत्रकारहरू कनकमणि दीक्षित, तीर्थ कोइरालालगायतले सुझाब राखेका थिए।

दीर्घकालीन योजनाका लागि विद्वत्सभा आयोजना गरिएको भनिए पनि एमालेले उनीहरूका सुझाबलाई समेत मध्यनजर गर्दै स्थानीय तह निर्वाचनसम्बन्धी घोषणापत्रलाई अन्तिम रूप दिने तयारी गरेको छ। पार्टीसँग निकट विज्ञहरूलाई सहभागी गरेर एमालेले घोषणापत्र तयारी गरिरहेको छ। ‘चुनावी घोषणापत्रमा विद्वत्सभामा आएका सुझाबहरू पनि प्रतिबिम्बित हुन सक्छन्,’ ज्ञवालीले भने, ‘तर, मूलतः दीर्घकालीन योजनाकै लागि सुझाब लिने उद्देश्यले नै विद्वत्वर्गलाई बोलाइएको हो ।’ एमालेले ६ महिनाभित्र विकास र समृद्धिको दीर्घकालीन योजना सार्वजनिक गरिने जनाएको छ।

सम्बन्धित शिर्षकहरु