संशोधन प्रस्ताव पारित हुन दिन्नौँ : अध्यक्ष ओली

काठमाडौँ, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा छलफलमा रहेको संविधान संशोधन प्रस्ताव पारित गर्न नदिइने दोहो¥याएका छन् ।

एमाले केन्द्रीय कार्यालय धूम्बाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले संविधान संशोधन राष्ट्र हितमा नरहेको दाबी गरे ।

“राष्ट्र«वादलाई हिमाली, पहाडिया र तराईको भनी विभाजन गर्न खोजिएको छ, यसरी राष्ट्रवादको खिल्ली उडाउन खोजिएको छ, एउटा पक्षको वकालत गर्नुलाई सन्तुलित राष्ट्रवाद भनिएको छ, हामी स्वाभिमानलाई बचाउँछौँ, भौगोलिक अखण्डतालाई सुरक्षित बनाउँछौँ”– नेता ओलीले भने।

कुनै पनि विषयमा तथ्य मेल खाँदैन भने त्यसलाई अन्धविश्वासका आधारमा पछि लाग्नुपर्छ भन्ने पक्षमा एमाले नरहेको उनले बताए । नेपाली कांग्रेस र नेपाल विद्यार्थी सङ्घले चुनाव हार्ने डरले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भाँड्न लागेको उनको आरोप थियो ।

“विद्यार्थी चुनावदेखि नै डराउनेले स्थानीय निकाय र संसदीय चुनाव कसरी गराउलान् ?”–नेता ओलीले प्रश्न गरे । पैसा खाएर राजदूत नियुक्त गरेको विषय सार्वजनिक सञ्चारमाध्यममा आउँदा पनि सत्तारुढ दलका नेताले मुख खोल्न नसकेको अध्यक्ष ओलीले बताए।

कार्यक्रममा पार्टी सचिव प्रदीप ज्ञवालीले युवा वर्ग १० वर्षे माओवादी जनयुद्धको सिकार बनेको बताउनुभयो । “बुर्जुवा शिक्षा पढ्नुपर्दैन भनेर गरिब जनताका छोराछोरीलाई भड्काउने पार्टीले आफ्ना सन्तानलाई विदेशमा पढाएर आम युवा वर्गको भविष्य बिगारे, शिविरबाट बाहिरिने युवाको पैसा खोसेर पनि युवालाई शोषण गरे”– उनले भने ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम् ३ नम्बर प्रदेश प्रमुख अष्टलक्ष्मी शाक्य, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ र एमाले काठमाडौँ अध्यक्ष कृष्ण राईले सबै तहको निर्वाचन आगामी माघ ७ गतेअघि नै सम्पन्न गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका नेकपा माओवादी केन्द्रका बुद्धिजीवी कपन पोखरेल र मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका नेता सन्तोष खड्कालगायत समूहलाई पार्टी सदस्यतासहित अध्यक्ष ओलीले स्वागत गरे ।

सम्बन्धित शिर्षकहरु