गाँजा सेवनले स्मरणशक्तिमा प्रतिकूल असर गर्छ

काठमाडौं । नेपालमा बेलाबेला गाँजा खेतीलाई वैधता प्रदान गर्नेबारे बहस चल्ने गर्छ। यसको पक्षमा तर्क गर्नेहरूले भन्छन्, गाँजा स्वास्थ्यका लागि लाभदायक छ। तर, अमेरिकामा गरिएको एक अध्ययनले विपरीत नतिजा देखाएको छ।

सोमबार प्रकाशित एक अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो। गाँजाको नियमीत सेवनले स्मरणशक्तिमा प्रतिकूल असर पर्ने बताएको छ। सोधमा संलग्न मास्ट्रिच्ट युनिभर्सिटी नेदरल्याण्डका प्राध्यापक जोहानेस रामेकर्सका अनुसार, एक सर्को गाँजा सेवन गर्दा दिमाग दोब्बर भ्रमित हुन्छ।

सेवनकर्ता यति भ्रमित हुन्छ कि, अर्काले सुनाएका कुरा पनि उसलाई आफैँले भोगे झैं भान हुन्छ। झुटो कुरा पनि साँचो प्रतीत हुन्छ। ‘अमेरिकामा एकपछि अर्को राज्यले गाँजालाई वैधता प्रदान गरिरहेका बेला प्रकाशित यो रिपोर्टले निकै अर्थ राख्छ’, अर्की सोधकर्ता एलिजाबेथ लोफ्टसले भनिन्, ‘खासगरी आपराधिक घटनाहरू बढाउन यसले ठूलो भूमिका खेल्ने देखिन्छ।’

एलिजाबेथ क्यालिफोर्निया विश्वविद्यालयमा कार्यरत् मनोविज्ञान विषयकी प्राध्यापक हुन्। भन्छिन्, ‘अनुसन्धान अधिकारीहरूका लागि पनि यो अध्ययन कामलाग्दो छ। नशाको अवस्थामा भएका व्यक्तिहरूसँग सोधपुछ गर्दा प्राप्त हुने सूचना भ्रामक हुनसक्ने रिपोर्टले देखाएको छ।’

अध्ययनका अनुसार, गाँजा सेवन गरेको मान्छेहरू सजिलै भ्रमित हुन्छन्। यसलाई वैज्ञानिकहरूले ‘मिसइन्फर्मेसन इफेक्ट’ भनेका छन्। यसको अर्थ हो, गाँजा पिएको मान्छेको स्मृतिमा नशामा भएका बेला घटेका घटनाबारे गलत सूचनाहरू संग्रहित भएका हुन्छन्।

मानौं, ऊ त्यसबेला कुनै आपराधिक क्रियाकलापमा संलग्न भएको रहेछ भने पछि प्रहरीले केरकार गर्दा सही कुरा बताउन सक्दैन। उसले झुटो बोलिराखेको हुँदैन, यथार्थमा ऊ भ्रमित भएको हुन्छ।

सम्बन्धित शिर्षकहरु