पाठकको कठघरामा नेपालमै सकिन्छ पुस्तकका लेखक

काठमाडौं । बुधबार अपराह्न ४ बजे प्रज्ञा भवन कमलादीमा रेडियो अडियोका दीपेन्द्र खनिया र नेपालमै सकिन्छ पुस्तकका लेखक रोहित भण्डारी मञ्चमा बोलाइए । मञ्चको अघिल्लो भागमा अधिकांश युवा थिए । खनियाले मञ्चअघि रहेकालाई सुरुमै सोधे, ‘रोहितजीसँग तपाइँहरु सोध्नुहुन्छ कि म नै सोध्न शुरु गरौं ?’
पाठकसँग लेखक, लेखकसँग पाठक नाम दिइएको उक्त अन्तरसंवाद पत्रकार रोहित भण्डारीको दोस्रो पुस्तक नेपालमै सकिन्छ का विषयमा केन्द्रित थियो । प्रज्ञा भवन कमलादीमा जारी पुस्तक मेलाका क्रममा आयोजित अन्तरसंवादमा खनियाले लेखक भण्डारीसँग पुस्तकका विषयमा केही जिज्ञासा राखे । अनि पाठकलाई पनि जिज्ञासा राख्नका लागि आग्रह गर्दै भने, ‘ रोहितजी यतिबेला तपाईंहरूको कठघरामा हुनुहुन्छ, पुस्तकका विषयमा आफूलाई चित्त बुझेका नबुझेका जे जे कुरा छन् त्यो सबै भन्नोस् ।’
कुराकानी करिब एक घन्टा चल्यो । रेडियो अडियोमा खुल्दुली डटकम मार्फत स्रोताका खुल्दुली मेट्ने खनियाले एक घन्टासम्म नेपालमै सकिन्छ पुस्तकका विषयमा आफ्ना र पाठकका खुल्दुली लेखक भण्डारी समक्ष राखे । पुस्तक किन लेखेकोदेखि लिएर पुस्तकमा के के छन् भन्ने सम्मका जबाफ दिएपछि लेखक भण्डारीले भने, ‘ बजारमा आइसकेको पुस्तकका विषयमा म धेरै बोल्दिन । पाठक न्यायाधीश हुनुहुन्छ , ठीक बेठीक, राम्रो नराम्रो यो सबै छुट्याउँने जिम्मा अब पाठकहरुकै हो । तर, म यति चाहिँ भन्छु —सानो लगानीमा अत्यन्तै राम्रो आम्दानी गरिरहेका, डीभी पीआर छोडेर नेपाल फर्किएका अनि नेपालमै रहेर लोभलाग्दो आम्दानी गरिरहेकाहरुका प्रेरणादायी कथा र विभिन्न सन्दर्भ समेटिएका कारण पनि पुस्तक पढिसकेपछि सबैले विश्वासका साथ भन्नुहुनेछ— हो, नेपालमै सकिन्छ । ’

सम्बन्धित शिर्षकहरु