शेर्पा अष्ट्रेलियाको लागि नेपाली राजदूतमा सिफारिस

सिड्नी। अष्ट्रेलियाको लागि नेपाली राजदूतमा लक्की शेर्पालाई सिफारिस गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अष्ट्रेलियासहित १४ देशमा राजदूत नियुक्तिको सिफारिस गरेको हो ।
शेर्पा सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रको कोटामा परेकी राजदूत सिफारिस भएकी हुन्। उनी एमालेको पूर्व सभासदसमेत हुन् । दोस्रो संविधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा एमाओवादी प्रवेश गरेकी शेर्पा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अष्ट्रेलियाको लागि सिफारिस गरेको थियो । तर, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि निर्णय उल्ट्याइएको थियो ।

हाल माओवादी कोटामा राजदूत नियुक्तिको सिफारिसमा परेका चारैजना केपी ओली नेतृत्वको सरकारको पालामा पनि सिफारिसमा परेका थिए । तर, ओली सरकार ढलेलगत्तै प्रचण्ड नेतृत्वको सरकारले सबै सिफारिस बदर गरेको थियो ।

सरकारको नेतृत्वकर्ता दल माओवादीबाट युवनाथ लम्साल डेनमार्क, लक्की शेर्पा अष्ट्रेलिया, महेन्द्रबहादुर सिंह साउदी अरब र पदम सुन्दास बहराइनका लागि राजदूत सिफारिस भएका छन् ।

शर्मिला पराजुली ओमानका लागि राजदूत सिफारिस भएकी छिन् । उनी फोरम लोकतान्त्रिकबाट परेकी हुन् । कांग्रेसबाट ६ राजदूत भएका छन् । अर्जुनजंगबहादुर सिंह कोरिया, भीम उदास म्यानमार, चोपलाल भुसाल बंगलादेश, विश्वम्भर प्याकुरेल श्रीलंका, रमेशप्रसाद कोइराला कतार र आशा लामा यूएईका लागि राजदूत सिफारिस भएका छन् ।

राप्रपाले तीन राजदूत पाएको छ । प्रतिभा राणा जापान, भरत रायमाझी स्पेन र निरन्जन थापा इजरायलका लागि राजदूत सिफारिस भएका हुन् । सरकारले स्पेनमा नेपाली दूतावास खोल्ने निर्णय पनि गरेको छ । साथै स्पेनको राजदूतमा भरत रायमाझीलाई सिफारिस पनि गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको दोस्रो बैठकले स्पेनमा दूतावास खेल्ने निर्णयसँगै राजदूत सिफारिस गरेको हो । स्रोतका अनुसार रायमाझी सत्तारुढ राप्रपाको कोटामा राजदूत सिफारिस भएका हुन् । उनी नेपाली सेनाका पूर्वसहायक रथी हुन् ।

सम्बन्धित शिर्षकहरु