अामा !
म अाज दिक्क छु
फेरि तिम्रो छोरा जस्तै
तिमीले हाइ-हाइमा हुर्काएकी तिम्री छोरी जस्तै
परदेशिएका हाम्रा अाफ्नै साथीहरु
समुद्रले निल्यो ।
हो,अामा!
तिमीले भन्थ्यौ नी !
रातो टीका लगाएर
सयपत्रीको माला गलामा भिरेर
दुर देशको उडानका लागि एर्पोट भित्र छिर्दै गर्दा
बाबु! समुद्रको छेउछाउ नगएस्
किनभने,
हामी पहाडको मान्छे बावु
हामीलाई त्यो महासागरले चिन्दैन।
साँच्चै अामा!
हामीलाई महासागरले चिनेन,
चिन्दैन र चिन्ने पनि छैन
किनभने, हामी पहाडका मान्छे
कल कल बग्ने ईन्द्रावतिमा बाँकटे हानेर वारपार गरेको मान्छे
भोटेकोशीको बहावमा पौडिएर माछा मारेको मान्छे
त्रिशुलि मादि र कर्णालिमा पुल नहुँदा पनि नदि पार गरेको मान्छे
त्यो पानीको अात्मियताले हामीलाई पराई कहिल्यै ठानेन
तर अामा यो म्लेक्षको देशमा
कालरुपी समुद्रले हाम्रो कोमलता बुझेन
हामीलाई अाफ्नो ठानेन, मानेन
र
अब त अाफ्नो ठान्ला भन्ने अाश पनि छैन
त्यसैले
आमा! आज म दिक्क छु।
मैले तिम्रा अर्ति मानेर होला
अलिकति आफैं जानेर होला
समुद्रलाई आफ्नो नठानेर होला
आफुलाई त जोगाएँ आमा
तर
उनिहरु जोगीएनन्
उनिहरुलाई कसैले तिमीले जस्तै अर्ति दियो कि दिएन होला
म जान्दिन आमा
उनिहरुका बा, आमाले तिमीले जस्तै
गंगासागर घुमेर फिरेपछि
सागरका कथा भने कि भनेनन् होला
भनेका हुँदाहुन् त
यस्तो नहुने थियो की
म केही जान्दिन आमा
तर
म साँच्चै दिक्क छु।
म सम्झन्छु ती पुराना दिनहरु
उहिल्यै गंगासागर काँशि घुमेर अाउँदा,
माझीले डुङ्गा चलाउँदै गर्दा
पानीमा तैरिएको लाशलाई धकेल्दै गंगा तारेको देखेपछि
त्यो सम्झेर कति दिनसम्म तिमी पिरोलिएकी थियौ
म अझै सम्झन्छु ती दिनहरु,
तिमी भन्थ्यौ नी
बावु बेवारिसे चैं मर्नु नपरोस्
त्यसमाथी बिदेशको मरण
अहं, बरु खोले खान्छु
एक पेट भर्नकै लागि,
विदेशमा गएर दु:ख गर्दा गर्दै मर्नु नपरोस्
तर,
अामा! जन्मको सत्य त बुझ्न कठिन हामीले
मृत्यु कसरी बुझ्थ्यौं ?
माख्लाघरे राजेन्द्रलाई बमले निलेपछि
मेरै उमेरको दाजुको धनयुद्धमा परेर
बेवारिसे मृत्यु भएको थाहा पाएपछि
थैया मानेर,
विदेश जाने कुरा सुन्न पनि नचाहने तिमीले
मुटुलाई गिदिका नसाहरुले कसेर
विदेश जाने अनुमति दिएकी थियौ
अनि सुनाएकी थियौ
बावु हामी पहाडका मान्छे
समुद्रले हामीलाई चिन्दैन बावु
त्यसको छेउमा नगएस्।









