राष्ट्रियसभा गठनका विषयमा कानूनविद्बीच नै फरक मत

काठमाडौँ । राष्ट्रियसभाको गठन नगरी सरकार गठन गर्न सकिने/ नसकिने बीचमा कानूनविद्बीच नै फरक मत देखिएको छ । रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडाैंमा आयोजना गरेको साक्षात्कारमा नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसीले राष्ट्रियसभा गठन नगरी नयाँ सरकार गठन हुन नसक्ने बताए ।

उनले सरकारले राष्ट्रपतिसमक्ष पेश गरेको अध्यादेशलाई जतिसक्दो छिटो स्वीकृत गर्नुको विकल्प नभएको र राष्ट्रपतिले अध्यादेश रोकिराख्दा सरकार गठन हुन नसक्ने जिकिर गरे । संविधानविद् डा भीमार्जुन आचार्यले राष्ट्रियसभा गठन नभए पनि सरकार गठन हुनसक्ने तर त्यसका लागि प्रतिनिधिसभा आवश्यक पर्ने बताए।

उनले एकल संक्रमणीय निर्वाचन प्रणालीको पक्षमा आफू भएको उल्लेख गर्दै वर्तमान धरातलीय आवश्यकता भएको हुँदा मत खेर जान दिन नहुने धारणा राखे ।

संविधानविद् डा चन्द्रकान्त ज्ञवालीले राष्ट्रियसभा गठन नगरी सरकार गठन गर्न नसकिने बताए । उनले राष्ट्रियसभा नभएको अवस्थामा बरु प्रधानमन्त्री बनाए पनि संघीय संसद्को समावेशी मन्त्रिपरिषद् गठन गर्न नसकिने स्पष्ट पारे ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएर ताजा जनादेश आइसकेको छ तर दलबीच बहुमतीय वा एकल संक्रमणीय निर्वाचन प्रणाली अपनाउने विषयमा सहमति नहुँदा कानून बन्न सकेको छैन । जसले गर्दा सरकार निर्माण तथा संघीय संसद्को गठन प्रक्रियामा ढिलाइ भइरहेको छ । रासस ।

सम्बन्धित शिर्षकहरु