अस्ट्रेलिया । जति टाढा उति माया गाढा ! पछिल्लो समय प्रवासमा उठ्दै गरेको नेपालित्वको भावनाले यो उक्ति चरितार्थ हुँदै गएको प्रतीत हुन्छ । अस्ट्रेलियामा नेपाली युवाले थालेको नेपाल चिनाउने अभियानले पनि यो भनाइलाई थप पुष्टी गर्छ ।
यतिबेला अष्ट्रेलियाका विभिन्न सहरमा नेपाल प्रवद्र्धनका लागि नेपाल महोत्सव भइरहेका छन् । ठीक त्यहीबेला नेपाली युवाहरु सिड्नीमा नेपालको पर्यटनको प्रचारका लागि अभियान सञ्चालन गरिरहेका छन् ।
उनीहरु १३ वटा कारमा नेपालको प्रवद्र्धनात्मक प्रचार सामग्री रोखेर सिड्नीमा दौडिरहेका छन् ।
कारमा नेपाल गौतम बुद्धको देश हो, नेपाल सगरमाथाको देश हो भन्ने सन्देशसहित आगामी बिदा नेपालमा मनाऔं भन्ने नारा लेखिएको छ । सडकमा गुडिरहेको आफ्नो कारको पछाडि रहने अर्को कारको मानिसहरुले नेपालको पर्यटनको बारेमा थाहा पाउन् भन्ने उद्देश्य प्रचार–प्रसार गरिएको अभियानकर्मीले जानकारी दिएका छन् ।
देशको लागि केही योगदान पनि हुने भएकोले यसतर्फ धेरैको चासो बढेको अभियन्ता विष्णु सापकोटाले जानकारी दिए। यो अभियानमा नेपाली युवाहरु सागर अधिकारी, विष्णु सापकोटा, अरुण गौतम, हान्सन विक, विकास शर्मा, सुदिप भण्डारीलगायत छन्।








