मलेसियाविरुद्ध मैदान उत्रँदै नेपाल

काठमाडौँ ३ पुस । श्रीलंकामा जारी एसीसी यु–१९ एसिया कप क्रिकेटमा आज नेपालले मलेसियाको सामना गर्दैछ । अघिल्ला दुई खेलमा पराजय बेहोरेको नेपालले समुह चरणको अन्तिम खेलमा मलेसियासँग खेल्न लागेको हो ।

नेपाल र मलेसियाबीचको खेल नेपाली समयअनुसार सवा १० बजे कोलम्बोमा सुरु हुनेछ । र, अघिल्ला दुई खेल आयोजक श्रीलंका र भारतसँग पराजित भएको नेपाल मलेसियाविरुद्ध मैदान उत्रँदा प्रतिष्ठाको लडाईमा हुनेछ । सेमिफाइनल पुग्ने सम्भावना गुमाइसकेको नेपाल पहिलो खेलमा श्रीलंकासँग १ रन तथा भारतसँग ६ विकेटले पराजित भएको थियो ।

समुह चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध जित निकाले समुह ए को नेपाल एक जितसहित घर फर्कनेछ । यदी मलेसियासँग पराजित भए नेपालले अघिल्ला दुई संस्करणको प्रदर्शनलाई समेत पछ्याउन असफल हुनेछ । अघिल्ला दुई संस्करणमा पनि नेपाल दुई खेलमा हार र एक खेलमा जितसहित घर फर्किएको थियो । पहिलो संस्करणमा नेपालले मलेसियालाई पराजित गरेको थियो भने भारत र पाकिस्तानसँग पराजित भएको थियो । यस्तै युएईमा भएको दोस्रो संस्करणमा पनि नेपालले युएईलाई पराजित गर्दा भारत र पाकिस्तानसँग पराजित भएको थियो ।

एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपाल र मलेसिया दोस्रो पटक भिड्न लागेका हुन् । यसअघि सन् २०१२ मा शुरू भएको यु – १९ एसिया कपको पहिलो संस्करणमा नेपाल र मलेसिया भिडेका थियो । मलेसियामा भएको उक्त सस्करणमा नेपालले मलेसियालाई १ सय ७ रनले पराजित गरेको थियो । आज हुने खेलमा नेपाललाई पहिलो संस्करणको जितलाई निरन्तरता दिनु हुनेछ ।

सम्बन्धित शिर्षकहरु